अध्यक्षका दाबेदारले नै गरे ‘३२ वर्षे उमेर हद’को पक्षमा मतदान

हिमाल प्रेस १३ पुष २०८१ १३:२५
126
SHARES
अध्यक्षका दाबेदारले नै गरे ‘३२ वर्षे उमेर हद’को पक्षमा मतदान मतदान गर्दै क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष मदन भट्टराई।

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा आज उमेर हद लाग्ने वा नलाग्ने पक्षमा मतदान भइरहेको छ। उमेर हद लाग्दा ३२ वर्षीय लाग्ने र नलागे जुनसुकै उमेरको व्यक्तिले पनि संगठनमा रहन सक्नेगरी प्रावधान बनाइएको छ। देशभर आज देशभरिका भूगोल र गैर भूगोल गरी ८६ वटा मतदान केन्द्र बाट २३९८ जना प्रतिनिधिहरुले गोप्य मतदान गर्दैछन्।

मतदान बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ। उमेरहदको टुंगो लागेपछि नेतृत्व छनोटको लागि १७ गते निर्वाचन हुँदैछ।

गत ९ गते पेरिसडाडामा बसेको निवर्तमान अध्यक्ष, संगठनका इन्चार्ज र आयोगका प्रतिनिधिको संयुक्त बैठकले २ चरणमा २३ औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो।

अहिले विद्यार्थी दुई भागमा विभक्त छन्। उमेर हद लगाउने वा नलगाउने भन्ने विषयमा। तर अध्यक्षका दाबेदार रहेका मदन भट्टराईले भने ३२ वर्ष उमेर हद लाग्नुपर्ने पक्षमा मतदान गरेका छन्। उनले ‘आफूले आफैलाई केन्द्रमा नराखेको’ भन्दै उमेर हदमा मतदान गरेको उनले खुलाएका छन्।

उनी यसअघि संगठनका उपाध्यक्ष थिए। यसपटक अध्यक्षका प्रत्यासी पनि हुन्। यसअघिको स्थगित सम्मेलनमा समेत भट्टराईले अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका थिए। तर उनले संगठनको हस्तान्तरणका लागि भन्दै उमेर हदका पक्षमा मतदान गरेको बताएका छन्। यसअघि उमेर हद लाग्ने विषयमा विवाद हुँदा संगठनको सम्मेलन नै स्थगित भएको थियो।

सम्मेलनमा विवादको विषय उमेर हद नै बन्यो। यही कारण माओवादी बैठकले नै उमेर हदका पक्षमा समेत निर्णय गर्न आजलाई मतदान तोकिएको हो। अब उमेर हदका पक्षमा बढी मत आए हालका आकांक्षीबाहेकबाट नेतृत्व चयन हुने सम्भावना छ। किनकि अहिले अध्यक्षका आकांक्षा राखिरहेका सबै ३२ उमेर काटेका छन्।

कि नियमित सम्मेलन कि उमेर हद!

क्रान्तिकारीमा उमेर हदबारे कित्ताकाट देखिएको छ। विशेषतः ३२ वर्ष नपुगेका विद्यार्थी उमेर हदका पक्षमा छन् भने ३२ कटेकाहरू उमेर हदको विपक्षमा छन्।

यसअघि समस्या भएको पनि यही विषय हो। पछिल्लो समय पार्टीले हस्तक्षेप गरेर ३२ वर्ष रहने–नरहने मापदण्ड तय गरेको हो। यदि ३२ वर्षमा मत बढी आए उमेर हदको ‘क्राइट एरिया’ बन्नेछ। उमेर हदको विपक्षमा मतदान गर्नेले ३२ को विरुद्धमा गर्नुपर्नेछ।

३२ वर्ष नपुगेका विद्यार्थीले पनि अब कि संगठनको नियमित सम्मेलन कि उमेर हदको एजेन्डा बनाएका छन्। क्रान्तिकारीको सम्मेलन २०७८ सालयता भएको छैन। नियमित (२-२ वर्षमा) हुनुपर्नेमा तीन वर्षमा पनि हुन सकेको छैन।  ‘नियमित सम्मेलन नभएकै कारण अहिले पुराना विद्यार्थी पनि आकांक्षी देखिएका हुन्,’ एक विद्यार्थी नेतृ भन्छिन्, ‘सम्मेलन नियमित भए उमेर हदको समस्या त्यसै सुल्झिन्छ।’

प्रकाशित: १३ पुष २०८१ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast