
काठमाडौँ- पश्चिमी अफ्रिकाबाट स्पेनतर्फ गइरहेको डुंगा मोरक्कोमा दुर्घटना हुँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ। मृतकमध्ये २५ जना मालीका नागरिक थिए।
यो ‘अस्थायी डुंगा’ ८० जना सवार रहेकोमा ११ जनाको मात्र उद्धार गर्न सकिएको मालीका अधिकारीहरूले बताएका छन्। उद्धार गरिएकामध्ये ९ जना मालीका नागरिक हुन्।
गत साता डुबेको डुंगाबारे पछि मात्रै पुष्टि भएको हो। माली लामो समयदेखि गृहयुद्धको शिकारमा फसेको छ। जिहादी र अलगवादी हिंसाको शिकारमा फसेका कारण सन् २०२० र २०२१ मा सेनाले सत्ता कब्जा गरेका थिए।
सैन्य सरकारले मार्च २०२४ मा चुनाव गराउने घोषणा गरेको थियो। तर, त्यहाँ हालसम्म चुनाव हुन सकेको छैन।
मुलुकको खराब अवस्थाका कारण ठूलो संख्यामा त्यहाँका नागरिक अवैध तरिकाले युरोप पुग्न एटलान्टिकको बाटो प्रयोग गर्ने गरेका छन्।