तनहुँमा धान उत्पादन बढ्यो

हिमाल प्रेस १० पुष २०८१ १३:३७ | Wednesday, December 25, 2024
तनहुँमा धान उत्पादन बढ्यो

तनहुँ- तनहुँमा धान उत्पादन बढेको छ। गत कात्तिकमा परेको बेमौसमी पानीका कारण धानबालीमा क्षति भएपनि समग्र रुपमा जिल्लामा धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।

केन्द्रका सूचना अधिकारी किरण परियारले आर्थिक वर्ष २०८१/८२ मा ३३ हजार दुई सय ९२ मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए। गत वर्षको तुलनामा यो वर्ष चार हजार ५५ मेट्रिक टन धान उत्पादन वृद्धि भएको परियारको भनाइ छ। चालु आर्थिक वर्षमा आठ हजार एक सय २० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो।

गत आर्थिक वर्ष २०८०/८१ मा सात हजार छ सय ६७ हेक्टर क्षेफलमा धान खेती गरिएकामा २९ हजार दुई सय ३७ मेट्रिक टन धान उत्पादन भएको थियो। परियारले भने, ‘गत कात्तिकमा वर्षाका कारण तनहुँका नौ वटा पालिकाका ४४ दशमलब ६२ हेक्टर क्षेत्रफलमा काटेर राखिएको धानमा क्षति पुगेको थियो। तर समग्रमा जिल्लामा धान उत्पादन वृद्धि भएको छ।’

तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुर, लगायतका धान खेती हुने गरेको केन्द्रले जनाएको छ। जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका क्षेत्रहरु धान खेतीका लागि प्रख्यात मानिन्छन्।

जिल्लामा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको छ। तर ५१ हजार ५ सय १० क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ। १३ हजार पाँच सय ५१ हेक्टर खेतीयोय जमिन बाँझो छ।

छ हजार तीन सय ४७ हेक्टर क्षेत्रफलमा बाह्रैमहिना सिचाइँको सुविधा पुगेको छ भने सात हजार दुई सय ३६ हेक्टर क्षेत्रफलमा मौसमी सिचाइँको सुविधा पुगेको छ। रासस

प्रकाशित: १० पुष २०८१ १३:३७ | Wednesday, December 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast