झलनाथ खनालको आक्रोश : म बिरामी भएको बेला बैठक राखियो

हिमाल प्रेस ९ पुष २०८१ १३:४१
38
SHARES
झलनाथ खनालको आक्रोश : म बिरामी भएको बेला बैठक राखियो

काठमाडौँ- महाधिवेशनको ६ महिनापछि गरेको नेकपा एकीकृत समाजवादीको कार्य विभाजनप्रति सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि व्यक्त गरेका छन्। उनले यसअघि बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत एजेन्डाबारे आफूलाई थाहा नभएको बताएका छन्।

बैठकको निर्णयअनुसार नेताहरूको कार्य विभाजन टुंग्याएपछि सचिवालयको ह्वाट्सयाप ग्रुपमा नेता खनालले लेखेका छन्, ‘म विगत १५ दिनदेखि डाक्टरको सल्लाह बमोजिम आराम गर्दै बसेको छु। यो मेरो विगतको उपचार शृंखलाकै एउटा अंग हो। त्यसले गर्दा म यस पटक पार्टीको स्थायी कमिटीको बैठकमा उपस्थित हुन पाइनँ।’

समाजवादी एक स्थायी कमिटी सदस्यका अनुसार खनालले ६ महिनापछि बैठक गर्दा पनि पार्टीले आफ्नो स्वास्थ्य अवस्था राम्रो नभएको बेलामा पारेको गुनासो गरेका छन्। ‘के के एजेन्डा प्रस्तुत भए? के के विषयमा छलफल भयो? कस्तो छलफल भयो र के निष्कर्ष निकालियो मलाई थाहा नभएको उल्लेख गरेका छन्।’ खनालको भनाइ उदृत गर्दै ती नेताले भने।

‘धेरै कमरेडहरूले देशभरिबाट मलाई सोधिरहनु भएको छ। कतिपय निर्णयहरूका बारेमा चर्को असन्तुष्टि रहेको कुरा पनि केन्द्रीय कमिटीका सदस्यहरूले व्यक्त गरिरहनुभएको छ। यस बीचमा कार्य विभाजन भएछ। त्यस बारेमा पनि धेरै असन्तुष्टि आइरहेको छ’ खनालले भनेका छन्। उनले आफूले पार्टीको दशौँ राष्ट्रिय महाअधिवेशन पछि गर्नुपर्ने कामहरूका बारेमा केही प्रस्तावहरू पनि पठाएको बताएका छन्।

उनले थपेका छन्, ‘त्यसमध्ये दसौँ राष्ट्रिय महाअधिवेशन र हाम्रो कार्य योजना शीर्षकमा पार्टीले तत्काल पहल गरेर गर्नुपर्ने कामहरूको योजना पनि पठाएको थिए। स्थायी कमिटीले के निर्णय गर्‍यो मलाई थाहा छैन। पार्टीले महाअधिवेशनबाट क्रान्तिको लक्ष्यका रूपमा समाजवादी कार्यक्रम त्यसलाई प्राप्त गर्ने कार्यदिशा, नीति र सिद्धान्तहरू पास गरेको छ। अब ती कुरालाई व्यवहारमा उतार्ने ठोस कार्ययोजना लिएर पार्टी निर्माण, जनआधार निर्माण र जनसंघर्ष निर्माणको दिशामा सिंगो पार्टीलाई हाँक्नुपर्ने आवश्यकता छ।’

पार्टी केन्द्रीय कमिटीका सदस्यहरूलाई उनीहरूको योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिँदै सिङ्गो पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताएका छन्।

‘स्थायी कमिटीले गर्नुपर्ने त्यही नै हो। तर के भएको वा गरिएको छ। मैले बुझ्न पाएको छैन। बुझेर मात्र धेरै कुरा भन्न उपयुक्त हुनेछ। कार्य विभाजन हेरे मलाई कयौँ कुरा चित्त बुझेन’ नेता खनालले भनेका छन्, ‘अब अपानी हेर्छु। अनि आफ्नो कुरा भनौला। पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक हुन बाँकी नै छ नि।’

प्रकाशित: ९ पुष २०८१ १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast