उपनिर्वाचनको हारको कारण खोज्दै राप्रपा

हिमाल प्रेस ७ पुष २०८१ ७:३९
12
SHARES
उपनिर्वाचनको हारको कारण खोज्दै राप्रपा फाइल तस्बिर- हिमाल प्रेस

काठमाडौँ- उपनिर्वाचनमा लज्जास्पद हार व्यहोरेको राप्रपाले निर्वाचनको नतिजामा आफूले गरेको तहगत कमजोरी खोज्ने भएको छ। उपनिर्वाचनमा भोगेको पराजय र त्यसमा परेको परिणामको बारे प्रतिवेदन तयार गर्न समिति गठन गर्ने भएको छ।

राप्रपाले विभागका प्रमुख वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा बागमती प्रदेश कार्यसमितिका अध्यक्षविक्रम बहादुर थापा र लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष प्रदीपकुमार उदय सदस्य रहेको समिति गठन गरेको हो।

समितिलाई राप्रपाको सुधार गर्नुपर्ने, निरन्तरता दिनुपर्ने र अवलम्बन गर्नुपर्ने नीतिगत, संरचनागत र समग्र पक्षका बारे वौद्धिक वर्ग, विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिहरू र आम जनसमुदायसँग घनीभूत छलफल र संवाद गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न अनुरोध गरेको छ। यद्यपि, राप्रपाले उपनिर्वाचनमा लज्जास्पद हार व्यहोरेको भन्न सकेको छैन।

अहिले चलिरहेको राप्रपा कार्य सम्पादन समितिको बैठकले मत सुधार आएको दाबी गरेको छ। राप्रपाले भनेको छ,‘ निर्वाचनको परिणाम राप्रपाको पक्षमा हुन नसके पनि अधिकांश स्थानमा मतमा सुधार भएको छ, यद्यपि परिणाम विजयका लागि पर्याप्त हुन सकेन।’

राप्रपाको लज्जास्पद हार

राप्रपाको कीर्तिपुर नगरपालिकामै पनि जमानत जफत भयो। कीर्तिपुर नगरपालिकामा ३१ हजार ११२ मतदातामध्ये उपचुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मेयर उमेदवार ध्रुव महर्जनले ९९५ अर्थात् कुल सदर मतको ४।७९ प्रतिशत प्राप्त गरे। यहाँ जित निकालेका कांग्रेसका कृष्णमान डंगोलले ५ हजार ३ सय ३४ प्राप्त गरे।

कीर्तिपुर त्यस्तो पालिका बन्यो, जहाँ राप्रपाले उपनिर्वाचन भएका ठाउँमध्ये सबैभन्दा बढी मत पायो। कीर्तिपुर(१ मा राप्रपाका वडाध्यक्षका उमेदवार सुरेन्द्रप्रसाद उप्रेतीले ६४ मत मात्र ल्याए। कीर्तिपुर(४ का वडाध्यक्ष उमेदवार राप्रपाकै विजेश बस्नेतले १६४ मत पाए।

कीर्तिपुरमा अरू दलभन्दा राप्रपाले पहिल्यै उमेदवारी घोषणा गरेको थियो। त्यसक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था गणतन्त्रवादी दलहरूले बिगारेको आरोप लगाएका थिए।कीर्तिपुरवासीलाई भोटमार्फत व्यवस्था परिवर्तनको शंखघोष गर्न उनले आह्वान गरेका थिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनकै जिल्ला झापाको कन्काई(६ मा राप्रपाका उम्मेदवार नारायण निरौलाले २६ मत पाए। त्यहाँ एक हजार ५०६ मत सदर भएको थियो। यता राप्रपा भने मत कम आएको स्वीकार्न सकिरहेको छैन।

राप्रपाले प्राप्त परिणामबाट कमीकमजोरीमा सुधार गर्ने, पार्टी निर्माणको अवसरको रूपमा सदुपयोग गर्ने र सबै तहका पार्टी संगठनलाई चुस्त दुरुस्त र चलायमान बनाउने निर्णय गरेको छ।

प्रकाशित: ७ पुष २०८१ ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast