काठमाडौँ- फिल्म ‘झिल्को’ को प्रदर्शन मिति वैशाख १८ मा सरेको छ। फिल्मका निर्देशक यादवकुमार भट्टराईले फेसबुकमा स्टाटस लेख्दै मिति सारेको जानकारी दिएका छन्।
छायांकनमा ढिलाइ भएको र प्राविधिक काम बाँकी रहेको भन्दै मिति परिवर्तन गरेको उनले बताए। यसअघि पाेस्टर सार्वजनिक गर्दै ५ पुसमा प्रदर्शन गर्ने भनिएको थियो।
फिल्म मोबाइलको दुरुपयोगले बालबालिकामा देखिने समस्या तथा त्यसले परिवार र समाजलाई पार्ने प्रभावमा आधारित छ। फिल्ममा सुनिल पोखरेल, वर्षा शिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल, आयुषी ढकाललगायत कलाकारले अभिनय गरेका छन्।
फिल्म भक्तपुर, काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा छायांकन गरिएको छ। यसअघि निर्देशक भट्टराईले सती प्रथाको कथामा ‘झोला’ र दाइजोविरोधी फिल्म ‘भोर’ बनाएका थिए।
फिल्मको पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले तयार पारेका हुन्। दीपक बज्राचार्यको छायांकन, निमेश श्रेष्ठको सम्पादन, आनन्द अधिकारीको गीत, चण्डीप्रसाद काफ्ले र दिपक शर्माको संगीत रहनेछ।