काठमाडौँ- अहिले सामाजिक सन्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पोखरा हिरासतमा सुतिरहेको फोटो भाइरल बनिरहेको छ। कोठाभित्र सिरक ओढेर एक व्यक्ति सुतिरहेको तस्बिरमा देखिन्छ। जुन फोटोका कारण प्रहरीमाथि पनि कतिपयले प्रश्न उठाइरहेका छन्।
प्रहरीले रविको फोटो सावर्जनिक गरेर गोप्यता भंग गरेको भन्दै सामाजिक सन्जालमा गालीगलौज चलिरहेको छ। त्यसाे त सोही फोटो रविकै हो वा होइन एकिन गर्न सकिने किसिमको छैन। किन कि फोटोमा रविको पूरै अनुहार देखिएको छैन। तर रास्वपाका कार्यकर्ता भने फोटो रविकै रहेको दाबी गर्दै प्रहरी प्रशासनमाथि प्रश्न गरिरहेका छन्।
सह-कोषाध्यक्ष दीपक बोहोराले त फोटो सावर्जनिक गर्नुको उद्देश्य नबुझेको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले फोटो सावर्जनिक गरेर प्रहरीले मात्र नभइ सरकारले समेत रविलाई बदनाम गर्न खोजेको बताइरहेका छन्।
तर सामाजिक अभियान्ता दाबी गर्ने निकोलश भुसालले आफूले खिचेको बताएका छन्। उनले सोही फोटो रविकै भएको र आफूले नै खिचेर सार्वजनिक गरेको सुनाएका छन्। उनले सामाजिक सन्जालमार्फत फोटो आफूले खिचेको र केही समयमा विस्तृत जानकारी दिने बताएका छन्। उनले फोटो खिचेकोमा गल्ती महसुस गर्दै खराव नियत नभएको बताएका छन्।