
बनियानी- झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ। कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रम अन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो ।
ती स्थानमा बिर्तामोड नगरपालिका-९, कचनकवल गाउँपालिका-१ र बाह्रदशी गाउँपालिका–६ मा १०-१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए।
कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्रले प्रदर्शनीका रुपमा बिना खनजोत मकैखेती प्रविधि प्रदर्शनी गरिएको उनले जानकारी दिए। यो प्रविधिको प्रयोगबाट उत्पादन लागत घट्नुका साथै नयाँ प्रविधि विस्तार र माटोको गुणस्तर सुधार हुने उनले बताए।
यो प्रविधिबाट धान काटेको खेतमा खनजोत नगरी उपकरणको प्रयोगबाट एकै पटक मकैको बिउ र मल हाल्न सकिन्छ। मकैको एउटा लाइनबाट अर्को लाइनको दूरी ४५ सेन्टिमिटर र बोटको दूरी १५–२० सेन्टिमिटर हुन्छ । हाल गरिएको नमूना खेतीमा डीएपी मल र बीउ एकै पटक राखिएको छ । जिल्लामा गत वर्ष ४४ हजार हेक्टरमा मकैखेती गरिएको थियो भने उत्पादकत्व सात टन प्रतिहेक्टर रहेको जनाइएको छ।