काठमाडौँ- गणपूरक संख्या नपुगेपछि अर्थ समितिको बैठक स्थगित भएको छ। सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्न सोमबार समितिको बैठक डाकिएको थियो। तर, गणपूरक संख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको सभापति सन्तोष चालिसेले जानकारी दिए।
प्रतिनिधिसभा नियमावली २०७९ ले संसदीय समितिको गणपूरक संख्या समितिको तत्काल कायम रहेको सदस्य संख्याको ५१ प्रतिशत हुनुपर्ने व्यवस्था राखेको छ। समितिको बैठकमा गणपूरक संख्या नपुगेसम्म समितिको सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को कुनै समय वा दिनसम्मको लागि बैठक स्थगित गर्नसक्ने व्यवस्था नियमावलीमा छ।
अर्थ समितिमा तत्काल कायम सदस्यको संख्या २३ रहेकोमा सोमबारको बैठकमा सभापति चालिसेसहित आठ जनाको मात्रै उपस्थिति थियो। सुरक्षित कारोबार विधेयकमाथि छलफलका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि बोलाइएको थियो। तर, अर्थमन्त्री पौडेल पनि बैठकमा उपस्थित भएनन्।