अर्थतन्त्रमा सुधार देखिएको अर्थमन्त्रीको दाबी

हिमाल प्रेस १ पुष २०८१ १४:२५ | Monday, December 16, 2024
अर्थतन्त्रमा सुधार देखिएको अर्थमन्त्रीको दाबी फाइल तस्बिर।

काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा थुप्रिएर बसेको सात खर्ब रुपैयाँको तरलतालाई लगानीमा रूपान्तरण गर्ने प्रयास गरिरहेको बताएका छन्। सोमबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले सरकारले लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई लगानीमा रूपान्तरण गर्ने गरी काम गरिरहेको बताए।

उनले अन्तर्राष्ट्रिय लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्ने र व्यवसायीको मनोबल उच्चरूपमा बढाउने विषयमा बढी केन्द्रित भएर काम गरिरहेको बताए। उनले अर्थतन्त्रलाई सुधारका लागि सरकारले गरेको प्रयासले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएको पनि दाबी गरे।

‘वर्तमान सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढंगले केलाइरहेको छ। समाधानका लागि एक–एक गरी कदमहरू चाल्दै छ। अर्थतन्त्रका केही सूचक सकारात्मक देखिएका छन्,’ उनले भने।

सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीलाई सुक्ष्मरूपमा विश्लेषण गरेर समाधानका उपाय कार्यान्वयनमा ल्याएकाले सुधार देखिएको उनको दाबी छ।

‘त्यो सकारात्मकता एक्कासि आएको होइन। बैंकको ब्याजदर एकल अंकमा आयो, तर त्यो त्यत्तिकै आएको होइन। त्यसको लागि सरकारले केही काम गरेको छ। राजश्व संकलन गत वर्ष चार महिनामा ३ प्रतिशत वृद्धि भएको थियो। चालु आर्थिक वर्षमा १७ प्रतिशत पुगेको छ। त्यो त्यत्तिकै भएको होइन, अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा काम भएका छन्,’ उनले भने।

प्रकाशित: १ पुष २०८१ १४:२५ | Monday, December 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast