असदको पतनपछि स्वदेश फर्कँदैछन् सिरियाली आप्रवासी

हिमाल प्रेस ३० मंसिर २०८१ २०:०१ | Sunday, December 15, 2024
असदको पतनपछि स्वदेश फर्कँदैछन् सिरियाली आप्रवासी डीडब्ल्यूको भिडियोबाट लिइएको स्क्रिनसट।

इस्तानबुल (रासस/एएफपी): सिरियाका शक्तिशाली राष्ट्रपति बशर अल-असदको पतन भएको पाँच दिनमा ७ हजार ६ सयभन्दा बढी सिरियाली आप्रवासीले टर्कीको सीमा पार गरेर घर फर्किएको टर्कीका गृहमन्त्रीले आइतबार बताएका छन्।

एक्समा दिएको बयानमा गृहमन्त्री अली येरलिकायाले डिसेम्बर ९ र १३ को बीचमा प्रत्येक दिन ‘टर्कीबाट स्वेच्छाले फर्केका’ सिरियालीहरूको कुल सङ्ख्या सूचीबद्ध गरेका छन्। यसमा पाँच दिनको सङ्ख्या सात हजार छ सय २१ आप्रवासी थिए।

सन् २०११ मा गृहयुद्ध सुरु भएपछि सिरियाबाट भागेका करिब ३० लाख शरणार्थीहरूले टर्कीमा शरण लिएका छन्। असदको पतनले धेरै जना घर फर्कने आशा जगाएको छ।

सोमबार बिहान एएफपीका संवाददाताहरूले सिरियाको दोस्रो सहर अलेप्पोबाट करिब ५० किलोमिटर पश्चिममा रहेको सिलभेगोजु सीमामा सयौँ शरणार्थी भेला भएको देखेको र गृह मन्त्रालयको तथ्यांकले त्यस दिन एक हजार दुई सय ५९ जनाले पार गरेको देखाएको छ।

येरलिकायाका अनुसार अर्को दिन एक हजार छ सय ६९, बुधबार एक हजार दुई सय ९३, बिहीबार एक हजार पाँच सय ५३ र शुक्रबार एक हजार आठ सय ४७ जनाले सीमा पार गरेका थिए।

असदको पतन भएको ४८ घन्टाभित्रै टर्कीले आफ्नो दैनिक सीमा पार गर्ने क्षमतालाई तीन हजारबाट १५ हजारदेखि २० हजारसम्म बढाएको थियो।

टर्कीले सिरियासँग नौ सय किलोमिटर लामो सीमा साझा गरेको छ। ‘यातायात सहज बनाउन’  पश्चिममा छैटौँ नाका खोल्ने टर्कीको भनाइ छ।

प्रकाशित: ३० मंसिर २०८१ २०:०१ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast