सरकारले जथाभाबी ऋण लिन हुँदैन : प्रकाशशरण महत

हिमाल प्रेस ३० मंसिर २०८१ १२:१२
6
SHARES
सरकारले जथाभाबी ऋण लिन हुँदैन : प्रकाशशरण महत फाइल तस्बिर

पर्सा- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आयोजनाको प्रभावकारिता र प्रथामिकताका आधारमा ऋण लिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल प्रेस युनियन पर्साद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहेका महतले सरकारले कोभिड–१९ पछि लिइएका ऋण तिर्न समस्या भइरहेकाले जभाभावी ऋण लिन नहुने धारणा राखे।

उनले विगत पाँच वर्षयता सरकारले लिएको आन्तरिक तथा बाह्य ऋण तिर्न समस्या भइरहेकाले आवश्यकताका आधारमा मात्रै ऋण लिनुपर्ने बताए। ‘आयोजनाको प्रभावकारिता र प्रथामिकताको आधारमा मात्रै ऋण लिएर प्रतिफल आउने क्षेत्रमा लगानी गर्नुपर्छ। त्यसो गर्न नसकिएको खण्डमा मुलुकमा ऋणको व्ययभार बढ्नेतर्फ सचेत रहन जरुरी छ’, प्रवक्ता महतले भने।

पूर्वअर्थमन्त्री महतले छिमेकी मुलुक चीन र भारतबाट अनावश्यक ऋण लिन नहुने धारणा राखे। ‘विश्व बैंक, एसियन विकास बैंक (एडीबी) लगायत सस्तो ब्याजदरको ऋण सदुप्रयोग गरी प्रतिफल केन्द्रित योजनामा लगानी गर्नुपर्छ’, उनले भने, ‘विभिन्न सर्त र प्रावधान राखेर लिने ऋण मुलुकको हितका लागि हुन्छन् वा हुँदैनन् त्यसतर्फ सचेत हुनु जरुरी छ।’

कांग्रेसका प्रवक्ता महतले बैंक तथा वित्तीय संस्थाले कोभिड-१९ को समयमा निजी क्षेत्रलाई प्रवाह गरेको ऋण अहिले उठाउन समस्या भइरहेको बताए।

‘कोभिडको समयमा व्यापार, व्यवसाय सबै स्थिर भएकाले त्यो बेला खर्च गर्ने ठाउँ भएन । अर्थतन्त्र चलायमान नहुँदा निजी क्षेत्रले पहिला लिएको ऋण तिर्न अहिले मुस्किल भइरहेको छ’, उनले भने, ‘अहिले पनि बैंक तथा वित्तीय संस्थामा जम्मा भएको पुँजी ऋणको रूपमा प्रवाह हुन सकिरहेको छैन । यसले मुलुकको अर्थतन्त्र पूर्ण रूपमा चलायमान हुन सकिरहेको छैन।’

प्रवक्ता महतले सरकार र निजी क्षेत्र दुवैले प्रभावकारी र प्रतिफल दिने आयोजनामा मात्र लगानी गर्नुपर्नेमा जोड दिए। वर्तमान सरकारले आर्थिक अनुशासन र राज्यको प्रथामिकतालाई ध्यानमा दिएर काम गर्नुपर्ने उहाँले बताए।

प्रकाशित: ३० मंसिर २०८१ १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast