काठमाडौँ- प्रयोगशालामा नमुना परीक्षण गर्दा उपत्यका भित्रिने सागमा अत्यधिक विषादी भेटिएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको प्रयोगशालामा नमुना परीक्षण गर्दा काठमाडौँ रायोको सागमा अत्यधिक विषादी भेटिएको विषादी प्रविधिक अस्मिता आचार्यले जानकारी दिइन्। प्रयोगशालाले परीक्षण गरेको रिपोर्टअनुसार धादिङ, मकवानपुर भक्तपुर, नुवाकोट र काभ्रेबाट भित्र्याइएको सागमा विषादी बढी देखिन्छ।
आचार्यले भनिन्, ‘प्रयोगशालाले गरेको रायो सागको नमुना परीक्षणमा मापदण्डभन्दा दोब्बर विषादी भेटिएको छ।’ साउनदेखि मंसिर १५ सम्म कालिमाटी प्रयोगशालाले ९ सय ९३ वटा नमुना परीक्षण गरेको उनले बताइन्।
रायोमा ३९ देखि ८२ प्रतिशतसम्म विषादीको अवशेष भेटिएको छ। ‘तरकारीमा विषादीको अवशेषका बारेमा मापदण्ड निर्धारण गरिएको हुन्छ। तर सागमा बढी देखियो’, आचार्यले भनिन्। प्रयोगशालाका अनुसार रायो सागको नमुनामा ७४.८२ प्रतिशतदेखि ७९.०२ प्रतिशत विषादी अवशेष भेटिएको छ।
३५ प्रतिशतसम्म विषादीको अवशेष देखिए उपभोग गर्न मिल्ने विषादी प्रविधिक आचार्यले जानकारी दिइन्। उनले भनिन्, ‘३५ देखि ४५ प्रतिशत विषादीको अवशेष देखिए केही दिन राखेर उपभोग गर्न सकिन्छ। ४५ प्रतिशतभन्दा बढी विषादीको अवशेष देखिए खान नहुने अर्थात् नष्ट गर्नुपर्छ।’
प्रयोगशालाका अनुसार दैनिक १० देखि १२ वटा तरकारीको नमुनामा विषादी अवशेष परीक्षण गरिन्छ। काउली र हरियो खुर्सानीमा केही दिन राखेर खान मिल्ने विषादीको अवशेष भेटिएको प्रयोगशालाका प्राविधिक आचार्यले बताइन्।
थोरै मात्र परीक्षण
चालु आर्थिक वर्षको साउनदेखि मंसिर १५ सम्म कालिमाटी प्रयोगशालाले ९ सय ९३ वटा नमुना परीक्षण गर्दा रायो सागका ५ वटा नमुनामा खान नमिल्ने विषादी भेटिएको छ। कृषि बालीमा १ सय ६४ प्रकारका विषादी प्रयोग गर्न अनुमति सरकारले दिएको छ। अहिले कालिमाटीमा १२ प्रकारका विषादीको मात्र परीक्षण हुने गरेको छ। किसानले प्रयोग गर्दै आएका १ सय ५२ प्रकारका विषादीको परीक्षण भएको छैन। विषादी परीक्षण व्यापक नबनाउँदा सर्वसाधारण विषादीयुक्त तरकारी र फलफूल खान बाध्य छन्।
सरकारले कालिमाटीमा भित्रिएको तरकारीका नमुनामा विषादी परीक्षण गर्दै आएको केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारीले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षमा देशभर ६ हजार ७ सय ७८ वटा नमुना परीक्षण गर्दा २१ वटा खान नमिल्ने र १२ वटा केही दिन राखेर खान मिल्ने तरकारी भेटिएको थियो।
तरकारी बालीमा प्रयोग गरिने कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीमात्र परीक्षण हुँदै आएको छ। यी दुई समूहमा १२ वटा विषादीको परीक्षण हुने गरेको राजभण्डारीले बताए। ‘नमुना परीक्षण गर्दा सागमा बढी विषादी भेटिन्छ। परीक्षण नभएको साग पनि बजारमा बिक्री भइरहेको छ। यस्तो साग खाँदा उपभोक्ताको स्वास्थ्यमा समस्या देखिन सक्छ’, उनले भने।
कालिमाटीको प्रयोगशालामा झापाको बिर्तामोड, सर्लाही, कास्की, बुटवल, नेपालगन्ज, कैलाली, सुर्खेत, नवलपुर, सुनसरी, धरान, सिन्धुली र धनुषाबाट भित्रिएको तरकारीको विषादी परीक्षण हुन्छ। केन्द्रीय प्रयोगशालामा कार्वामेट र अर्गानोफस्फेट समूहका दुईवटा विषादी परीक्षण हुन्छ।
सरकारले २०७१ असारबाट तरकारी र फलफूलको विषादी परीक्षण गर्दै आएको छ। देशभर १२ वटा स्थानमा विषादी परीक्षण प्रयोगशाला छन्। चालु आर्थिककमा पाँचवटा नयाँ विषादी परीक्षण गर्ने प्रयोगशाला स्थापना गरी सञ्चालनमा आउने तयारीमा छन्।