आफ्नै घरमा काम गर्ने नाबालिकामाथि बलात्कार गरेको आरोपमा पूर्वमेयर पक्राउ

हिमाल प्रेस २५ मंसिर २०८१ ६:३० | Tuesday, December 10, 2024
आफ्नै घरमा काम गर्ने नाबालिकामाथि बलात्कार गरेको आरोपमा पूर्वमेयर पक्राउ

काठमाडौँ- नाबालिकलाई बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन्। उनलाई अहिले पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।

बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी परेको र सोही उजुरीको आधारमा शिवाकोटीलाई आज बिहान बिर्तामोड प्रहरीले पक्राउ गरेको हो।

पीडित शिवाकोटीको बिर्तामोड ५ मा रहेको घरमा करिब ८ वर्ष अघिदेखि घरेलु कामदारका रुपमा काम गर्दै आएकी थिइन्। उनी अहिले १७ वर्षकी भएकी छिन्। उनी स्थानीय विद्यालयको कक्षा ११ मा पढ्छिन्।

किशोरीलाई शिवाकोटीले पटकपटक करणी गरेको प्रहरीसँगको बयानमा खुलेको छ।

बुबाको मृत्यु भएपछि ती बालिका मेचीनगरस्थित एक आफन्तको घरमा बस्दै आएकी थिइन्। बालिकाको आमाले पनि दोस्रो विवाह गरेकी भारतको आसाममा गइसकेकी छिन्।

शिवाकोटीका चिनजान पर्ने ती आफन्त घरमा बस्दै आएकी बालिकालाई आफ्नो घरको कामसँगै पढाउने भनी शिवाकोटीले लिएर गएका थिए। त्यसपछि पटकपटक बलात्कार गरेको उनीमाथि आरोप छ।

पक्राउ परेका शिवाकोटीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उनी बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए।

प्रकाशित: २५ मंसिर २०८१ ६:३० | Tuesday, December 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast