
इटहरी- नेपाली कांग्रेस कोशीको पहिलो सम्मेलन आज (शनिबार) विराटनगरमा हुनेछ।
आज बिहान ११ बजे विराटनगरस्थित मनास्लु पार्टी प्यालेसमा हुने सम्मेलनको उद्घाटनका लागि पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारै आएका छन्। देउवाले उद्घाटन गर्ने कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारीहरू सहभागी हुनेछन्।
विधानसम्मत प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएपनि पार्टीले पहिलोपटक सम्मेलन गर्न लागेको हो। सम्मेलनका लागि १४ वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी हुने कांग्रेस कोशी सभापति उद्धव थापाले जानकारी दिए।
‘सम्मेलनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ,’ उनले भने, ‘सुरूमा उद्घाटन सकेपछि साँझमा यसबारे छलफल हुन्छ।’
सम्मेलनमा सभापति देउवाले सम्बोधन गर्नेछन्। यसैगरी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सम्बोधन गर्नेछन्।
यसैगरी सहमहामन्त्री भीष्मराज आङ्देम्बे, कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता प्रकाशरण महत, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहित गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखक, केन्द्रीय सदस्यहरू विजयकुमार गच्छदार, ज्ञानेन्द्र कार्की, मीन विश्वकर्मा, राजीव कोइराला, राजीव ढुंगाना, लक्ष्मी खतिवडाले सम्बोधन गर्नेछन्। जसमध्ये महामन्त्री शर्माबाहेक अरू नेताहरू शुक्रबारै विराटनगर आइसकेका छन्। शर्मा आज आउने तयारी भएको छ।
कोशी सभापति थापाले भने सबै कार्यकर्तालाई सम्मेलनमा सहभागी हुन आह्वानसमेत गरे । यसैबीच नेता डा शेखर कोइरालाले आफ्नै प्रदेशको सम्मेलन बहिष्कार गर्ने भएका छन्।
उनकै गृह जिल्ला मोरङस्थित विराटनगरमा हुने सम्मेलनमा सहभागी नहुने भएका हुन्। खासगरी डा कोइरालाले सभापतिपछिको वरियतामा आफू हुनुपर्ने माग राखेका थिए। तर, पार्टीको केन्द्रीय वरीयता निर्धारण अनुसार मर्यादाक्रम राखिने भएपछि कोइरालाले प्रदेश सम्मेलन बहिष्कार गरेर चितवन जान लागेका हुन्। सभापति देउवापछि उपसभापति खड्का दोस्रो वरीयतामा छन्।
आफूलाई वरिष्ठ नेताको रूपमा दाबी गर्दै आएका डा कोइरालालाई पार्टीले भने वरिष्ठको योग्यता भने दिएको छैन।