इटहरी- ०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकबाट मोरङको ग्रामथान १ को वडाध्यक्षमा नमोनारायण माझी निर्वाचित भए। पछि फोरम र नेपाली कांग्रेस एकीकरण भएपछि उनै नमोनारायण कांग्रेस भए।
०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि नमोनारायण वडाध्यक्षमा उठ्न चाहन्थे। उनले कांग्रेसबाट टिकटको आकांक्षा राखेपनि पार्टीले उनलाई टिकट दिएन। कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्ष उठे । तर, उनी पराजित बने । स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका उनी गत भदौमा माओवादी केन्द्र प्रवेश गरे । माओबादी केन्द्र प्रवेश गरेका उनै नमोनारायण माझी ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्।
दल फेरिरहने आरोप खेप्दै आएका उनी स्थानीय जनताको बलियो साथका कारण भाग्यमानी बनेका छन्। आइतबार भएको उपनिर्वाचनमा माओवादीका नमोनारायणले ६ हजार ९ सय ६९ मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर १ हजार ६ सय ३६ छ । यसैगरी नेकपा एमालेका तुलसीराम विश्वासले ४ हजार १ सय ५९ मत मत प्राप्त गरे ।
खासगरी ग्रामथानको चुनावी परिणाम रोचक छ। ०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले गाउँपालिका अध्यक्ष जित्यो । ०७९ सालको निर्वाचनमा भने नेपाली कांग्रेसले जित्यो । यसरी हेर्दा ग्रामथानमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले एक–एक कार्यकाल नेतृत्व गरिसकेका छन्।
तर, २०७९ सालमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएपनि राष्ट्रियसभाको निर्वाचनमा मत हाल्न विराटनगर गएको बेला उनी अचानक बेहोस भएका थिए । उपचारका क्रममा उनको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आइतबार निर्वाचन भएको हो।
२०७४ मा एमालेका शिवनारायण माझी थारूले ४ हजार ७ सय २० मतसहित अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी तत्कालीन फोरम लोकतान्त्रिकका जयप्रकाश गच्छदार थारूले ४ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए । अघिल्लो चुनावमा ५९ मतान्तरले विजयी भएका शिवनारायणलाई २०७९ मा कांग्रेसबाट उम्मेदवार बनेर उनै जयप्रकाशले पराजित गरे । जयप्रकाशले ७ हजार ६ सय ५ मत पाउँदा शिवनारायण ६ हजार ९३ मतमा सीमित भएका थिए ।
तर, जयप्रकाशको निधन भएसँगै रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो। स्थानीय जनताले पनि एक–एकपटक एमाले–कांग्रेसले नेतृत्व गरेका कारण यसपटक भने नयाँलाई टेष्ट गर्ने बताउँदै आएका थिए । यसअघि हिमाल प्रेसकर्मी चुनावी प्रक्षेपणका लागि ग्रामथान पुगेको बेला स्थानीय कमल चौधरी भन्दैथिए, ‘एमाले र कांग्रेसले निर्वाचन जितेपनि हामीलाई कुनै फाइदा भएन । यसपटक नयाँलाई पो टेष्ट गर्नुपर्छ कि जस्तो लाग्दैछ।’
उनले एमाले, कांग्रेस र माओवादीनै प्रतिस्पर्धामा आउने र दुई दलले अध्यक्ष जितेपनि माओबादी बाँकी रहेकाले त्यतैतिर मत हाल्ने संकेत गरेका थिए। उनले निर्वाचित भएर गएपछि जनताको आवाजलाई दबाउन नहुने र उनीहरूका माग सम्बोधन गर्नुपर्ने बताउँछन्।
‘पिछडिएको जातिलाई उत्थान गर्नुपर्छ । ग्रामथान संरक्षण गर्नुपर्छ, तर यसअघि जितेर गएकाले संरक्षण नै गरेन भन्दा पनि हुन्छ,’ उनले भनेका थिए, ‘प्रत्येक टोलमा हुनुपर्ने ग्रामथान अहिले संरक्षणको अभावले जीर्ण बन्दै गएको छ । कुनैबेला पूजा गर्ने ठाउँ चार बिघा थियो भने अहिले एक कठ्ठा पनि छैन ।’ उनले यस ठाउँमा मान्छेहरू सचेत नभएको बताउँदै जनताका आवाज उठाउने मान्छेसमेत नरहेका कारण जननिर्वाचित जनप्रतिनिधि नै अग्रसर हुनुपर्ने बताएका छन् ।
खासगरी ग्रामथानमा ग्रामथानमा ७ वटा वडा छन्। जसमा २६ हजार ४४ मतदाता रहेपनि आइतबार भएको उपनिर्वाचनमा १८ हजार ५७७ मत खसेको थियो ।
मोरङ क्षेत्र नं। ४ बाट प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री अमनलाल मोदी माओबादीका लागि चुनावी कमाण्डर बनेर खटिएका थिए । नमोनारायणलाई पार्टी प्रवेश गराउनेदेखि टिकट दिलाउनेसम्मको भूमिका अमनलालको नै रहेको थियो । उनीसहित माओवादी कोशी प्रदेश इञ्चार्ज हरिबोल गजुरेल, सह–इञ्चार्जहरू सावित्रीकुमार काफ्ले, अजम्बर काङ्माङ राई, राष्ट्रियसभामा माओवादीका प्रमुख सचेतक गोपी अछामीदेखि पूर्वराज्यमन्त्री विजयकुमार विश्वास, पूर्वसांसद कुलप्रसाद साम्बालगायतका नेता निर्वाचनमा खटिएका थिए ।
ग्रामथानको अध्यक्षमा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादीबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार ९दिवेश०, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाबाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार थिए ।
नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा एकीकृत समाजवादी पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी अध्यक्षको उम्मेदवार थिए ।
कोशी प्रदेशमै पालिका अध्यक्ष पदका लागि ग्रामथानमा मात्रै चुनाव भएको हो ।