
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयअन्तर्गतका सबै निकायका छपाई अब प्रज्ञा छापाखानाबाट गर्ने निर्णय गरेको छ।
आइतबार मन्त्रालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयअन्तर्गतका निकायहरु र यस मन्त्रालयसम्वद्ध निकायहरुबाट गरिने छपाई सम्बन्धी कार्यहरु नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा छापाखानाको अधिकतम् क्षमताले भ्याएसम्म सोही छापाखानाबाट मात्र छपाई गर्ने निर्णय गरेको हो।
बैठकले प्रज्ञा छापाखानाको क्षमता अनुरुप गर्न सकिने छपाईका कार्यहरुको विवरण सहितको जानकारी र प्रतिष्ठानको छपाईसम्बन्धी कार्यविधि उल्लेखित सबै निकायहरुलाई प्रतिष्ठानले लेखी पठाउने निर्णय गरेको छ।
मन्त्रालयको यो निर्णयसँगै हाल कुल सञ्चालन क्षमताको १५ प्रतिशतमात्र सञ्चालित छापाखाना पूर्ण क्षमतामा सञ्चालनमा आउने छ। यो निर्णयपछि वार्षिक रुपमा १२ करोड रुपियाँ बढीको छपाइ प्रज्ञा छापाखानाबाटै हुने छ भने राज्यको तीनदेखि चार करोड जोगिने बताइएको छ।
केही समय पहिले संस्कृति मन्त्री पाण्डेले प्रज्ञा प्रतिष्ठानको भ्रमणका क्रममा त्यहाँको छापाखानालाई कसरी पूर्ण रुपमा सञ्चालनमा ल्याई प्रतिष्ठानको आय बढाउन सकिन्छ भन्ने विषयमा प्राज्ञहरुसँग छलफल गरेका थिए।
भ्रमणका बेला उनले आफूले छापाखानालाई पूर्ण रुपमा सञ्चालनमा ल्याई प्रतिष्ठानको आय वृद्धि तथा राज्यको खर्च बचत गर्ने योजना अघि ल्याउने वचन दिएका थिए।