दुर्गा चौधरी : माओवादीबाट एमाले आए, ओली-पोखरेलको आलोचना गरेकोमा पार्टीविहीन भए

हिमाल प्रेस १२ मंसिर २०८१ ६:५८ | Wednesday, November 27, 2024
दुर्गा चौधरी : माओवादीबाट एमाले आए, ओली-पोखरेलको आलोचना गरेकोमा पार्टीविहीन भए

काठमाडौँ-  केपी शर्मा ओली र शंकर पोखरेललाई सार्वजनिकरूपमा गाली गलौज गरेको अभियोगमा लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी नेकपा एमालेबाट निलम्बित भएका छन्।

एमाले जिल्ला कमिटी बाँकेले स्पष्टीकरणको जबाफ समेत चित्तबुझ्दो नभएको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको हो।

एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङले चौधरीमाथि गरिएको कारबाहीको बोधार्थ एमाले केन्द्रीय कमिटी र लुम्बिनी प्रदेश कमिटीलाई समेत पठाएका छन्।

चौधरी नेकपाकालमा माओवादीबाट एमालेमै बसेका नेता हुन्। एमालेका पूर्व लुम्बिनी प्रदेश उपसचिव रहेका उनी हाल सल्लाहकार रहेका छन्।

पार्टीलाई हानी नोक्सानी पुर्‍याउने मनसाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्‍नेलगायत गतिविधि गरेको भन्दै चौधरीलाई निलम्बन गरिएको छ। बाँके–१ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी पूर्वमन्त्री समेत हुन् । लीला गिरी मुख्यमन्त्री हुँदा चौधरी मन्त्री थिए ।

एक नेताका अनुसार चौधरी कुनैपनि पार्टी कमिटीमा नरहेकाले बाँके जिल्ला कमिटीले पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय भएको हो। माओवादीबाट एमाले आएका चौधरी यसअघि प्रदेश कमिटी उपसचिव थिए। तर गत वर्ष सम्पन्न प्रदेश अधिवेशनमा उनी उपसचिव पदमा पराजित भए।

‘स्पष्टीकरणको जवाफ दिने सन्दर्भमा आफ्ना कमी कमजोरी प्रति महशुशीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्धमा लिखित जवाफ दिनु भएको हुँदा तपाईलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कार्बाहीको व्यवस्था अनुरुप पार्टी सदस्यबाट निलम्बन गरिएको जानकारी गराउँदछु’, अध्यक्ष गुरुङले पठाएको पत्रमा उल्लेख छ ।

यद्यपि गल्ती सच्याएर आउँदा निलम्बन फुकुवा हुने अध्यक्ष गुरुङले बताए ।

प्रकाशित: १२ मंसिर २०८१ ६:५८ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast