काठमाडौँ – सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत धम्की दिएर रकम मागेको आरोपमा प्रहरीले ललितपुरबाट एक जना डाक्टरलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका–१६ घरभई ललितपुर ग्वार्को सानोगाउँ बस्दै आएका ३२ वर्षीय डा.आशिष दाहाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
आफू अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट रहेको भन्दै भारतको बिहारलगायतका ठाउँबाट कन्ट्र्याक किलर लगाई हत्या गरिदिने धम्की दिएर दाहालले नगद माग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले उनले पचास हजारदेखि दुई लाखसम्म रकम माग्ने गरेको जानकारी दिए।
प्रहरीका अनुसार दाहालले ९७०९७०५२१५ नम्बरको ह्वाट्सएपबाट मेसेज र फोन गरेर धम्की दिने गरेको प्रहरीले जनाएको छ।
दाहाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।