राष्ट्रपति पौडेलबाट ‘नेपालका निधि’ पुस्तक लोकर्पण

हिमाल प्रेस ५ मंसिर २०८१ १६:४२
134
SHARES
राष्ट्रपति पौडेलबाट ‘नेपालका निधि’ पुस्तक लोकर्पण

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित अनि आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै भविष्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताएका छन्।

उनले बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित महेन्द्रनारायण निधिको संघर्षमय जीवनीमा आधारित वरिष्ठ पत्रकार किशोर नेपालद्वारा लिखित ‘नेपालका निधि’ नामक पुस्तक लोकार्पण गर्दै यस्तो बताएका हुन्।

पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको यो लक्ष्य पूरा गर्न न्यायपूर्ण, समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने बताए।

राष्ट्रपति पौडेलले जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी जवाफदेही र सुशासन पहिलो शर्त भएको उल्लेख गरे।

उनले भने, ‘सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्य मान्यता अनि पवित्रतालाई धुमिल बनाउजे अवस्था आउन दिन हुँदैन। यो कुरामा ध्यान दिन सके नै लोकतन्त्रको मूल्यमा कसैसँग सम्झौता नगर्ने निधिजी लगायतका अग्रजहरूप्रति सच्चा सम्मान हुनेछ भन्ने पनि म ठान्दछु।’

राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधिका बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनः स्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि पनि सङग्रहणीय सामग्री हुने स्पष्ट पारे।

बीपी कोइराला र समाजवादी नेता डा. राममनोहर लोहियाका चिन्तनबाट प्रभावित भएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको बताउँदै उनले देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनका लागि आफ्नो जीवन समर्पित गरेको स्मरण गरे।

उनले भने, ‘‘जहानियाँ राणाशासन र एकदलीय पञ्चायतमात्र होइन रुढीवादी, पछौटेपन तथा कुसंस्कारबाट मुक्त गरी नेपाली समाजलाई परिवर्तनको उज्यालो मार्गमा अघि बढाउन निधिजीले खेल्नुभएको भूमिका सदैव अनुकरणीय छ। राजनीतिक जीवनका अनेकौ उतारचढावका दिनमा मैले निधिजीलाई अन्यन्त धैर्यवान, सरल, सादगी नेताका रुपमा चिन्ने र बुझ्ने मौका पाएको छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast