काठमाडौँ- नेकपा माओवादी केन्द्रले दुई कार्यदल गठन गरेको छ।
मंगलबार बसेको पदाधिकारी बैठकले पार्टीको विधानलाई लिपिबद्ध गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ। जसमा जसमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका छन्।
त्यस्तै पालिका सम्मेलनको कार्यविधि बनाउन महासचिव देव गुरुङको नेतृत्वमा कार्यदल बनाएको हो । जसमा उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे रहेका छन्।
बैठकले कार्यदलको दिएको सुझावका आधारमा विधान अनुमोदन गरी निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। गत वर्ष फागुन १ देखि ३ गतेसम्म काठमाडौँमा माओवादीको प्रथम विधान अधिवेशन भएपनि अहिलेसम्म माओवादी केन्द्रले विधानको खाकालाई अन्तिम रूप दिएको छैन।
त्यसैगरी माओवादी केन्द्रले पालिका सम्मेलन गर्दा आउने प्रतिनिधिहरू पार्टी सदस्यको आधारमा कसरी आउने र निर्वाचन प्रक्रिया कस्तो बनाउने भन्ने विषयमा कार्यविधि बनाउन कार्यदल बनाएको छ।