नेपाली माछाले बजार पाएन

हिमाल प्रेस ३ मंसिर २०८१ १३:१६ | Monday, November 18, 2024
नेपाली माछाले बजार पाएन फाइल तस्बिर

चितवन- भारतीय माछाका कारण नेपाली माछाले बजार नपाउँदा किसान चिन्तित बनेका छन्। सिमाबाट भन्सार छलेर आएका माछाका कारण यहाँ उत्पादित माछाले बजार पाउन नसकेको किसानहरुले गुनासो गरेका छन्।

मत्स्य व्यवसायी सङ्घ चितवनका सचिव लुलाराज तामाङका अनुसार अहिले माछापालन गर्ने किसान माछा बिक्री नहुँदा निराश बनेका छन्। उनले भने, ‘अहिले मात्रै चितवनमा ३०० टन माछा बिक्रीका लागि तयारी अवस्थामा रहेको छ।’ बिक्रीका लागि तयारी अवस्थामा रहेका माछाले बजार नपाउँदा किसान आफै भन्सार छलेर आएका माछाको निगरानीमा लागेका छन्।

भन्सार छलेर आएका माछा सस्तो मूल्यमा पाइने र नेपाली माछाले सो मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेको तामाङले बताए। काठमाडौँको बजारमा मात्रै दैनिक १५ टन माछा बिक्री हुने गरेको भए पनि अहिले नेपाली माछा नगन्य रुपमा मात्रै काठमाडौँ भित्रिने गरेको उनले बताए। यहाँको माछाको बजार काठमाडौँ, पोखरालगायतका ठाउँ हुने गरेको भए पनि अहिले माछा खपत कम भएको सङ्घका सदस्य नीरञ्जन थापाले बताए।

थापाका अनुसार अहिले भन्सार छलेर आएका माछाको निगरानीका लागि काठमाडौँ, पोखरा प्रवेश गर्ने नाकामा सशस्त्र प्रहरी बलको सहयोगमा निगरानी बढाइएको उनले बताए।

मङ्सिर र पुस महिनाभित्र नेपाली उत्पादनलाई बजारमा लगिसक्नुपर्ने भन्दै उनले यस्तै अवस्था रहे नेपालको उत्पादनले बजार पाउन कठिन हुने गुनासो गरे। अहिले किसानकोमा जलकपुर र पाङ्गास माछा तयारी अवस्थामा रहेका छन्।

जिल्लामा हाल ८०० भन्दाबढी हेक्टर क्षेत्रफल जलाशयमा माछा पालिँदै आएको छ। पशुसेवा कार्यालय तथा विज्ञ केन्द्र भरतपुरका मत्स्य विकास अधिकृत गङ्गा भण्डारीका अनुसार जिल्लामा हाल एक हजार १०५ हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरी माछा पालिँदै आएको छ।

त्यसबाट ४६ लाख ५५ हजार किलो माछा उत्पादन हुने गरेको उनले बताए। उनले भने, ‘बजारमा माछा आउन थालेको छ, भारतीय माछाका कारण नेपाली माछाले बजार नपाउने समस्या बढ्दो छ।’ भारतीय माछाको चोरी पैठारी रोक्न सरकारले काम गरिरहेको उनले बताए।

माडी, रत्ननगर, भरतपुरलगाय ठाउँ माछाका लागि पकेट क्षेत्रका रुपमा रहेका छन्। यस्तै खैरहनी र राप्तीमा पनि माछापालन हुँदै आएको उजले बताए।

प्रकाशित: ३ मंसिर २०८१ १३:१६ | Monday, November 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast