शिक्षक-कर्मचारीले हाजिर गरिसकेपछि सार्वजनिक बिदाको सूचना

रमेश दवाडी ३ मंसिर २०८१ १०:५९
930
SHARES
शिक्षक-कर्मचारीले हाजिर गरिसकेपछि सार्वजनिक बिदाको सूचना

काठमाडौँ- आइतबार बिहान अधिकांश कर्मचारीहरू कार्यालय पुगिसकेका थिए। कतिपय विद्यालयका बालबालिका त विद्यालय पुगेर पठनपाठनमा सहभागी भइसकेका थिए। बैंक वित्तीय संस्थामा कर्मचारीहरू कार्यालय  हाजिर गरिसकेका थिए। बिहान पढाइ हुने शैक्षिक संस्थामा कक्षा सकिइसकेको थियो। सरकारले भने साढे ९ बजेपछि सार्वजनिक बिदाको सूचना जारी गरेको छ।

आन्तरिक राजस्व कार्यालय कलंकीका नायब सुब्बा यमराज आचार्यले कार्यालय पुगिसकेपछि बिदाको सूचना पाएको बताए। उनले भने, ‘बिदाको सूचना जारी हुँदा मैले त कार्यालयका हाजिर गरिसकेको थिएँ।’

मध्यबानेश्वरस्थित रत्नराज्य माविका प्रधानाध्यापक रामाशिष यादवले विद्यालयमा आधाभन्दा बढी शिक्षकले हाजिर गरेपछि बिदाको सूचना आएको बताए। उनले भने, ‘यस्तो सूचना सरकारले अघिल्लो दिनै दिनुपर्दथ्यो। ढिला सूचना दिँदा शिक्षक र बालबालिका दुवै मारमा परेका छन्।’

उनले विद्यालय सञ्चालनका लागि अघिल्लो दिन गरिएको तयारी भताभुंग भएको बताए। उनले भने, ‘एक दिनले पनि कति घाटा हुन्छ भन्ने कुरा सरकारले बुझेन। सरकारले अपरिपक्व निर्णय गरेर बालबालिकालाई पनि दु:ख दियो।’ यसरी ढिला बिदा दिएकोमा सामाजिक सञ्जालमा पनि सरकारो आलोचना भएको छ।

मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाकाे निधनमा सोमबार बिदा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णय बिहान साढे ९ बजेपछि मात्रै सार्वजनिक भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले ९ बजेका लागि मन्त्रिपरिषद् बैठक राखेका थिए। प्रधानमन्त्री सचिवालयका अनुसार आकस्मिक रूपमा बैठक डाकिएको थियो। ढुंगानाको निधन हिजो (आइतबार) २ बजे भएको थियो।

मन्त्रिपरिषद्को निर्णयमा प्रतिनिधिसभाका पूर्वसभामुुख दमननाथ ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरिएको उल्लेख छ। बैठकले राष्ट्रिय सम्मानका साथ  ढुंगानाको अन्त्येष्टि गरिने र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्थीसुब्बा गुरुङले जानकारी दिए। साथै स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय सरकारले गरेको छ।

‘अकस्मात् बिदा आवश्यक थिएन’

पूर्वमन्त्री एवम् नागरिक अगुवा देवेन्द्रराज पाण्डेले ढुंगानाको निधनमा बिदा आवश्यक नभएको उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो अकस्मात्को सार्वजनिक बिदा आवश्यक थिएन। बाँचेकै बेला नेका, एमाले आदिले यी सक्षम र योग्य अनुभवी नागरिकका निम्ति उपयुक्त राजकीय जिम्मेवारीको चाँजोपाँचो मिलाइदिएको भए बढी ग्राह्य हुन्थ्यो।’

प्रकाशित: ३ मंसिर २०८१ १०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast