कांग्रेस-एमालेको अनौठो तालमेल : एमाले उम्मेदवारको चुनाव चिह्न रूख

हिमाल प्रेस ३ मंसिर २०८१ ७:५१
8
SHARES
कांग्रेस-एमालेको अनौठो तालमेल : एमाले उम्मेदवारको चुनाव चिह्न रूख

काठमाडौँ- आउँदो मंसिर १६ मा हुने उप निर्वाचनका लागि आइतबार (हिजो) उम्मेदवारी दिने समय तोकिएको थियो। देशभरको ४४ स्थानमा तोकिएको उपनिर्वाचनमा देशका ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नै तालमेल भएको पाइएको छ। कतै एमालेले कांग्रेसलाई साथ दिएको छ भने कतै कांग्रेसले आफ्नो उम्मेदवार नउठाएर सहयोग गरेको छ।

जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाएर कांग्रेसलाई साथ दिएको छ। तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको पदमा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्दै एमालेले उम्मेद्वार नउठाउने भएको हो।

कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। केहीबेरमा उम्मेदवारी दर्ताको तयारी छ। उपनिर्वाचनअन्तर्गत मनोनयन दर्ताको अघिल्लो दिन नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको सत्ता गठबन्धन दल नेपाली कांग्रेस र एमालेको जिल्लास्तरीय बैठकमा कांग्रेसलाई समन्वय प्रमुखमा सघाउने र आफ्नो उम्मेद्वार नउठाउने विषयमा एमाले नेताहरू सहमत भएका हुन्। यस्तै कांग्रेस-एमालेबीच उप निर्वाचनका सन्दर्भमा अनौठा गठबन्धन बनेका छन्।

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनमा एमालेका मात्र उम्मेदवार रहेको पाइएको छ। जहाँ पालिका उपाध्यक्ष र एक वडाध्यक्षका लागि हुने उपचुनावमा दुवै दलले साझा उम्मेदवार अगाडि सारेका हुन्।

यहाँ रोचक त के छ भने दुवै उम्मेदवार एमालेकै हुनेछन् तर, उपाध्यक्ष पदकी उम्मेदवार एमाले रुकुमपूर्वकी जिल्ला उपसचिव केशकुमारी तुलाचनले कांग्रेसको रुख चिह्नबाट चुनाव लड्नेछिन्।

एमाले रुकुमपूर्वका जिल्ला अध्यक्ष लिलामणि गौतमले दुवै दलबाट साझा उम्मेदवार एमालेबाट उठाइएको बताए । यद्यपि वडा नम्बर २ का वडाध्यक्ष पदको उम्मेदवार बनेका एमालेका जीवन रोकाले भने सूर्य चिह्नबाट चुनाव लड्नेछन्।

पालिका उपाध्यक्ष र वडाध्यक्ष दुवैमा एमालेकै उम्मेदवार बनाउने गरी कांग्रेस र एमालेबीच गठबन्धन भएकाले दुवै दलबीच अपनत्व होस् भन्ने हेतुले उपाध्यक्षलाई रूख चिह्नबाट चुनाव लड्ने गरी अगाडि सारिएको एमाले जिल्ला अध्यक्ष गौतमले बताए।

प्रकाशित: ३ मंसिर २०८१ ७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast