रास्वपाको दोस्रो चरणको आन्दोलन ८ गतेदेखि

हिमाल प्रेस २ मंसिर २०८१ १६:०७ | Sunday, November 17, 2024
रास्वपाको दोस्रो चरणको आन्दोलन ८ गतेदेखि रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन गर्ने भएको छ। पार्टीले आइतबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले उक्त जानकारी दिएका हुन्। उनले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ। हाम्रो राजनीतिक अभ्यासमा उद्दण्डता छैन।’

झाले ८ गतेदेखि हुने आन्दोलन काठमाडौँ केन्द्रित हुने बताए। आन्दोलन दलगत स्वार्थमा केन्द्रित नरहने पनि बताए। उनले भने, ‘देशको विद्यमान अवस्था, अहिलेको चुनौती र आवश्यकतालाई समेटेर आन्दोलन गर्न लागेका हौँ। हाम्रो आन्दोलनलाई अन्य दलले पनि नकार्न सक्दैनन्।’

रास्वपाले आन्दोलनका लागि सभापति लामिछानेमाथि साधिएको राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने, सभापतिलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्नुपर्ने, सहकारीपीडितको बचत रकम फिर्ता गर्नुपर्ने तथा स्वायत्त सहकारी प्राधिकरण बनाउनुपर्ने माग अघि सारेर आन्दोलन गर्न लागेको हो।

भ्रष्टाचार काण्डको न्यायिक छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने, एक दर्जन ऐनको संशोधन गर्नुपर्ने, प्रवासी र गैरआवासीय नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्ने अन्य माग छन्।

सभापति रवि लामिछानेलाई हिरासत बाहिर राखेर पनि अनुसन्धान गर्न माग गरेको छ। झाले आफूहरू कानुनी राज्यको पक्षमा रहेको बताए। उनले संविधानअनुसार निष्पक्ष न्यायको अपेक्षाा गरिएको पनि बताए।

आफ्ना सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको आरोप लगाउँदै रास्वपाले यसअघि पोखरा र काठमाडौँमा पहिलो चरणको आन्दोलन गरेको थियो। सहकारीको रकम हिनामिना गरेको आरोपमा सभापति लामिछानेलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उनले जिल्ला अदालत कास्की र जिल्ला अदालत रुपन्देहीमा बयान दिइसकेका छन्।

प्रकाशित: २ मंसिर २०८१ १६:०७ | Sunday, November 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast