भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक छ : प्रचण्ड

हिमाल प्रेस ३० कार्तिक २०८१ २०:०६ | Friday, November 15, 2024
भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक छ : प्रचण्ड

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक रहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा सोमत घिमिरेद्वारा लिखित ‘सामुदायिक समाजवाद’ पुस्तक सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले समाजवाद जबर्जस्ती थोपरेर आउने कुरा नभएको बताए। कुनै पार्टीका दस्तावेजमा लेखेर या अरु देशको नक्कल गरेर वास्तविक समाजवादको मर्म पूरा नहुने उनको भनाइ थियो।

‘वास्तविक समाजवाद न कुनै किताबका पानाबाट निस्कन्छ न पार्टीका उपदेशबाट,’ उनले भने, ‘समाजवाद जगैदेखि निर्माण गर्ने कुरा हो। हामीले अब समाजवाद उमार्नु छ, समाजवाद थोपर्नु होइन।’ अध्यक्ष प्रचण्डले मुलुकमा समाजवादको वैचारिक बहस गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।

पुस्तकका लेखक घिमिरेको लेखनमाथि समीक्षा गर्दै उनले आफ्नो पार्टीले ‘२१औँ शताब्दीको नयाँ जनवाद’ पुस्तक निकालेर जनताको समाजवादको विषय उठान गर्दै आएको बताए। उनले उक्त दस्तावेजमा असली समाजवादमा जनताको नियन्त्रण, निगरानी र सक्रिय हस्तक्षेपको कुरा उल्लेख गरिएको छ बर्ता।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले २०४६ सालदेखि जनताले समाजवादको भाषणमात्रै सुन्दै आएको तर अहिले पनि व्यवहारमा लागू हुन नसकेको टिप्पणी गरे। समाजवादले जनताको भोको पेटसँग प्रत्यक्ष सरोकार राख्ने भए पनि नेपालको राजनीतिक दल सत्तामुखी भएको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले समाजवादबाटै सीमान्तकृत समुदायको मुक्ति सम्भव हुने र आफ्नो पार्टी यसैका आधारमा संघर्षरत रहेको बताए। आदिवासी जनजाति अधिकारकर्मी सरु सिङ्गक लिम्बूले लेखक घिमिरेको पुस्तकमा समाजवादको वास्तविक मार्गदर्शन चित्रण भएको टिप्पणी गरे।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले सहजकर्ताको भूमिका निर्वाह गरेकी थिइन्। घिमिरेको पुस्तक मदानी बुक्सले प्रकाशन गरेको हो।

प्रकाशित: ३० कार्तिक २०८१ २०:०६ | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast