१७ वर्षपछि अभिनयमा फर्केकी विपना भन्छिन् : बिछोडिएको बछेडीले आमा भेटेजस्तै भयाे

हिमाल प्रेस २९ कार्तिक २०८१ १७:१७ | Thursday, November 14, 2024
१७ वर्षपछि अभिनयमा फर्केकी विपना भन्छिन् : बिछोडिएको बछेडीले आमा भेटेजस्तै भयाे

काठमाडौँ- ‘नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका अभिनेत्री विपना थापाका बाबु आफ्नी राम्री छोरीलाई पनि मनिषा कोइराला जस्तै नायिका बनाउँछु’, भन्ने गर्थे। राजनीतिक विरासत बोकेको परिवारमा जन्मेकी अभिनेत्री मनिषाको छायाँ उनले आफ्नी छोरीमा पनि देखेको हुनुपर्छ।

भारतको बलिउड नगरीमा एउटी नेपाली छोरीको ओजपूर्ण चर्चाले उनमा त्यो सोच आएको हुनुपर्छ। तर विडम्बना थापाका बाबुले छोरीलाई नायिकाका रुपमा फिल्मको पर्दामा कहिल्यै देख्न पाएनन्। विपना छ वर्षको हुँदा उनकाे देहावसन भयो। उनलाई बुबाको त्यतिधेरै सम्झना पनि छैन।

आफ्ना बाबुको सपना सुनेकी अभिनेत्री विपना सानै उमेरदेखि नाच्नमा पारगङ्त थिइन्। काठमाडौँ स्युचाटारमा जन्मिएकी विपनासँग स्कुले जीवनमा के हुने र के गर्ने कुनै लक्ष्य थिएन। चर्चित नृत्याङ्गना विमला श्रेष्ठ उनको छिमेकी थिइन्। नाच्न सिपालु विपना विमलालाई हेर्दै आफूलाई त्यस्तै बनाउने कल्पना गर्थिन् र आफैँलाई भन्थिन, ‘कुनै दिन म यी विमला फुपुजस्तै नाच्ने हुन्छु।’

नभन्दै विपना नाच्नमा यति सिपालु थिइन् कि कक्षा ९ मा पढ्दै गर्दा नै स्कुलको वार्षिकोत्सवका लागि अरूलाई नृत्य सिकाउँथिन्। आफ्ना बाबुको मनिषा जस्तै बनाउने सपना र अर्कोतर्फ विमला फूपुझैँ नृत्यङ्गना हुने चाहनाका बीच १३ वर्षको उमेरमा नै उनका लागि अभिनयको ढोका खुल्यो। त्यो मौका उनलाई निर्देशक रेशराज आचार्यले दिएका थिए।

उनी बाल कलाकारका रुपमा भएको अभिनय यात्रा यसरी सम्झिन्छन्। ‘उहाँ मेरो बाबाको साथी हो। उहाँले मलाई ‘आमा’ भन्ने टेलिशृङ्खलामा छोरीको भूमिकामा पहिलोपटक अभिनय गराउनुभएको थियो। मेरो अभिनय यात्रा सोही टेलिशृङ्खलाबाट बाल कलाकारका रुपमा भएको हो। त्यो टेलिशृङ्खलाको सुटिङ सकिँदासम्म म १४ वर्षको भइसकेकी थिएँ। त्यो टेलिशृङ्खला छायाङ्कन भए पनि कहिले पनि ‘रिलिज’ भने हुन पाएन।’ टेलिशृङ्खला प्रसारणमा नआए पनि त्यसले उनको अभिनयको लामो यात्रा कोरिदिने काम भने गर्‍यो।

यो २०५१ सालतिरको कुरा हो। आचार्यले त्योसँगै विपनालाई शक्ति साबुनको विज्ञापनमा समेत अभिनय गराए। ‘आमा’ टेलिशृङ्खलाको सुटिङका दौरानमा कलाकार तथा निर्देशक मोहन निरौला सुटिङस्थल पुगेका थिए। दुबै जनाको पुरानै मित्रताको चिनाजानी थियो। उनले सुटिङमा विपनालाई सिनेमा गर्ने प्रस्ताव गरे।

त्यतिबेला मोहन एउटा फिल्म निर्देशनको तयारी गरिरहेका थिए। १४ वर्ष लागेकी विपनाले टेलिशृङ्लालाई नै फिल्म मानिरहेकी थिइन्। र उनले अबोध शैलीमा मोहनको प्रस्तावमा ‘मैले त खेलिसकेँ’ भन्ने जवाफ दिइन्। निरौलाले विपनालाई पुनः ‘ठूलो पर्दाको फिल्म खेल्ने हो’ भनेर सोधेपछि भने विपनाले ‘मेरो घरमा आएर सोध्नुस्’, भन्ने जवाफ दिए। त्यसपछि निर्माता छविराज ओझा, राजकुमार शर्मा, निरौलालगायतका विपनाको घरमै पुगे र परिवारसँग कुरा गरे। “एसएलसी दिएको पर्सिपल्टको कुरा हो यो”, उनले भनिन्। परिवारले विपना थापालाई फिल्म गर्ने अनुमति दिए। यसरी ‘जन्मभूमि’ उनको डेब्यु फिल्म हुन पुग्यो।

नायिका हुने पक्का भएको दिन उनले आफ्नो पिताले भनेको कुरा स्मरण गरिन् र यस्तो सोचिन्, ‘‘ओहो! म त कत्रो ठूलो के–के भइछु लागेको थियो किनभने मैले अभिनेत्री भनेर चिनेको–सुनेको नाम मनिषा कोइराला थियो। उहाँ राजनीतिक परिवारमा जन्मिएकी र हुर्केकी मान्छे। अनि मेरो बुबाले पनि यसलाई त मनिषाजस्तो नायिका बनाउनुपर्छ भन्नुहुन्थ्यो सानैदेखि। त्यसैले नायिका हुने पक्का हुनेबित्तिकै मैले मनिषा म आफू नै हो कि भनेर अनुभव गरिरहेकी थिएँ। म पनि त्यस्तै बन्ने भएँ भन्ने लागेको थियो।’

विपनाले आफ्नो पहिलो फिल्मका लागि पारिश्रमिक पाँच हजार रुपैयाँ र मुट्ठीभरि त्यतिबेलाको लोकप्रिय ह्वाइट र्‍ याबिट चक्लेट पाइन्। पाँच हजार पैसाले धेरै खुसी हुनुभयो या एक मुट्ठी चकलेटले? भन्ने प्रश्नमा उनी हाँसिन्। ‘ओहो! पाँच हजार रुपैयाँ भयो। त्यो पनि आजभन्दा करिब २८/२९ वर्ष अगाडि, आजको पाँच लाख सरहको पैसा होला त्यो सायद।’

पाँच हजारमा पहिलो फिल्म खेल्नेकी विपनालाई त्यस वर्ष फिल्मको ओइरो नै लाग्यो। त्यो वर्ष डेब्युसहित सात वटा फिल्ममा काम गरिन्।

पाँच हजार र एक मुठ्ठी ह्वाइट र्‍याबिट चक्लेटबाट सुरु भएको उनको पारिश्रमिक बाँकी छ फिल्ममा कुनैमा २० त कुनैमा २५ हजार रुपैयाँ पारिश्रमिक लिइन्। उनले सोही वर्ष ३५ हजारसम्म पैसा पाएको सम्झना छ।

फिल्म उद्योगबाट बिदा नहुँदासम्म अधिकतम पाँच लाख रुपैयाँ बुझिन्। यो रकम लिँदा नेपाली रजतपट बृत्तमा ठूलै हल्लाखल्ला भएको विपना बताउछिन्। ‘त्यो बेलामा राजेश हमाल, विपना थापाले त एउटै फिल्मको पाँच लाख रुपैयाँ लिन्छन् भनेर ठूलै हल्लाखल्ला भएको याद छ। यो पैसा मैले ‘वरमाला’ र ‘बहादुर’ भन्ने दुई वटाका लागि मात्र लिएकी थिएँ”, थापाले भनिन्। २०५१ सालमा सुरु भएको उनको अभिनय यात्रा २०६५ सालसम्म करिब १५ वर्ष निरन्तर रह्यो।

उनी आफूलाई अभिनेत्रीका हिसाबले डेब्यु फिल्मले नै परिपक्व बनाएको बताउँछिन्। यसो हुनुको पछाडि उक्त फिल्ममा उनी सँगै काम गरेका त्यतिबेलाका चर्चित र प्रतिभाशाली कलाकारलाई दिन्छिन्। उक्त फिल्ममा त्यतिबेलाका चर्चित अनुहार सरोज खनाल, शिव श्रेष्ठ, मौसमी मल्ल, गीताञ्जलि तथा सुनिल थापालगायतका कलाकारले अभिनय गरेका थिए।

‘चर्चित कलाकारहरुको भिडमा म १४ वर्षकी सानी केटी पहिलोपटक फिल्म खेल्दै थिएँ। उहाँहरुबीच म पहिलोपटक ठूलो पर्दाको फिल्म खेल्दै गरेकी केटीलाई अभिनय सिकाउने प्रतिस्पर्धाजस्तो हुन्थ्यो’, उनले भनिन्, ‘सरोज दाइसँग सिन पर्दा बसुन्धरा भुसाल दिदी आएर सरोजले आफ्नो मात्र अनुहार देखाउला नि नानी भन्नुहुन्थ्यो, मौसमी दिदीले त्यस्तै भनेर गाइड गर्ने, सरोज दाइले त्यस्तै भन्ने। सब मेरो गुरुजस्तो हुनुभयो र सिकाउनुभयो।’ विपनाका अनुसार दिग्गज कलाकारहरुको मार्गदर्शन र सिकाइले फिल्मको लाइट, क्यामरासँग कसरी साक्षात्कार गर्ने भनेर उनलाई दोस्रो अनुभव आवश्यक परेन।

त्यो वर्ष लगातार सात फिल्ममा अभिनय गररेकी विपनाले डेब्यु वर्षमा नै सर्वोत्कृष्ट अभिनेत्री अवार्ड उचाल्न सफल भइन्। ‘त्यो वर्ष ‘जन्मभूमि’सँगै, ‘गोठालो’, ‘अपहरण’, ‘चुनौती’ गरी सात फिल्म खेलेँ। त्यो वर्ष मैले सर्वोत्कृष्ट नवअभिनेत्री तथा व्यस्त अभिनेत्रीको अवार्ड जितेँ’, उनले सुनाइन्।

त्यो समयमा यो त्यो भूमिका कथा विषयवस्तु नभनी फिल्महरु गर्ने गरेको उनी बताउँछिन्। उनी प्रस्ताव आएका र समयले भ्याएसम्मका फिल्ममा कान गरेको सम्झिन्छिन्। हामी यो त्यो फिल्म गर्दैनथ्यौँ। प्रस्ताव आएका सबै फिल्ममा गर्‍थ्याैँ। समय मिलायो काम गर्‍यो, अहिलेजस्तो परिपक्व भएर पनि आइएको हुँदैनथ्यो। हामी निर्देशकले जे भन्यो त्यो गर्थ्यौँ। यो गर्छु, त्यो गर्दिन, यस्तो खाँदिन भन्ने पनि हुन्नथ्यो। एउटा पारिवारिक माहोलमा काम गर्‍थ्याैँ।’

पर्दामा उनको कुशल नृत्यकौशल र अभिनय क्षमताबाट नै दर्शकमाझ लोकप्रिय बन्न सफल भइन्। उनी आधुनिक युवती, बुहारीलगायतका सबै भूमिकामा फिट देखिन्थिन् सबैभन्दा बढी एउटा मेहनती कलाकारको परिचय उनले बनाएकी थिइन्।

करिब एक सय १४ वटा फिल्ममा अभिनय गरेको बताउँदैविपनाले धेरै फिल्म उस्तै खालको भूमिका गरे पनि ‘तँ त साह्रै बिग्रिस नि बद्री’ मा गरेको चरित्रलाई कहिल्यै बिर्सन नसक्ने बताउँछिन्। सुरुमा उनलाई नायिकाको सकारात्मक भूमिकामा काम गराउने सहमति भए पनि परिस्थितिवश नकारात्मक भूमिका गर्नुपर्ने बाध्यता आइपर्‍यो। उनले त्यो भूमिकालाई खुबै टार्न खोजेकी थिइन् । सो भूमिका नगराइयोस् भनेर फिल्मका निर्माता/निर्देशकसँग राेइन् पनि।

त्यो समयमा सकारात्मक भूमिका गर्दै आएको अभिनेत्रीले नकारात्मक भूमिका गर्नु ‘करियर’कै लागि ठीक नहुने सोचिन्थ्यो र कलाकारहरु पनि सोही कुरामा विश्वास मान्थे। विपनाले त्यो फिल्म खेल्नुअघि नायिकाका रुपमा सकारात्मक भूमिकामा देखिँदै आएकी थिइन्।

नकारात्मक भूमिका खेल्दा भोलिका दिनमा आफूलाई असर गर्नसक्ने उनको बुझाइ थियो। पछि उनको बिहेमा कन्यादानसमेत दिनुभएका निर्माता किरण केसीले सम्झाएपछि मात्र मनले नमानेरै अभिनय गरिन्।

फिल्मको ‘ह्विस्की’ नामको पात्र आजसम्म पनि उनलाई मन पर्दैन। ‘अर्काको श्रीमानसँग लाग्ने र घरमा श्रीमती हुँदाहुँदै अर्की श्रीमती पनि बनाउन खोज्ने मान्छे मलाई पहिलोदेखि नै मन नपर्ने। मेरो पात्र ठ्याक्कै त्यस्तै फिल्ममा। त्यो पात्र गर्न मलाई पटक्कै मन लागेको थिएन । तर हरिवंश आचार्य र किरण केसीले यो एउटा चरित्र हो, कलाकार भएपछि हरेक किसिमको भूमिका गर्नुपर्छ, यसले तिम्रो फिल्मी ‘करियर’मा कुनै पनि नकारात्मक असर गर्दैन भनेर कर गरेपछि मैले गरेँ।’ फिल्म ‘रिलिज’ भएपछि उनले जे सोचेर डर मानेकी थिइन्, ती कुनै पनि कुराले असर गरेन। त्यसपछि पनि सकारात्मक भूमिकाको रोजाइमा परि नै रहिन्।

विपना थापाको रुपमा आज पाइरहेको परिचयका लागि नेपाली फिल्म उद्योगलाई आफूले सधैँ सम्झिराख्ने उनको भनाइ छ। नेपाली फिल्ममा नआएको भए आजकी विपना अर्को कुन संसारमा हुन्थेँ भन्ने जवाफ आफूसँग नभएको बताछिन्। ‘१४ वर्षबाट सुरु मेरो फिल्म यात्राका सक्रिय हरेक वर्ष पाँच÷सातवटा फिल्म खेल्दैमा बिते। अन्तिम फिल्म गर्दासम्म म व्यस्त नै थिएँ। १४–१५ वर्षको त्यो उमेरमै फिल्ममा नभए कता हुन्थे भनेर कहिले सोच्ने फुर्सद नै भएन।’

आफ्ना जीवनका व्यस्त दैनिकीमा उनले लगातार ३६ घण्टासम्म लखतरान भएर ढल्ने अवस्थासम्म काम गरेको सम्झिन्छिन्। ‘मलाई याद छ। मैले लगातार ३६ घण्टा फिल्मको सुटिङ गरेको छु। ‘अर्जुन’ भन्ने फिल्ममा धीरन शाक्यसँग बालाजुको बाइसधारामा छायांकन हुँदा त्यसरी काम गरेको थिएँ। सुटिङमै बाइसधारा माथिबाट सिधैँ भुइँमा लडेँ। धीरेन दाइले नसमात्नुभएको भए आज विपना जीवित हुँदैन थिएँ होला। लगातार ३६ घण्टा काम गर्दा म निकै कमजोर भएको थिएँ।’

त्यो व्यस्ततालाई छोडेर घरजममा लागेकी विपना १७ वर्ष पछाडि ‘ह्रस्वदीर्घ’ फिल्ममार्फत पुनः नेपाली फिल्ममा फर्किएकी छन्। फिल्म कात्तिक ३० मा प्रदर्शन हुँदैछ।

यो आफ्ना पति र छोराका कारण सम्भव भएको उनी बताउँछिन्। ‘अहिले फिल्ममा फर्किनुको कारण मेरो छोरा र श्रीमान् हो। बाबुछोराले नै काम गर्न मन लागेको छ भने गर्नु भनेपछि फर्किएकी हुँ।’ श्रीमान र छोराको भनाइ सम्झिदै विपनाले भनिन् ‘श्रीमानले यो जीवन भनेको तिम्रो आफ्नो रोजाइको जीवन हो भनेर हौँस्याउनुभयो। छोराले पनि म आफूलाई हेर्न सक्छु तपाइँ काम गर्नुस् भने।’

त्यसो त उनकी सासू पनि बुहारीको इच्छा मार्ने पक्षमा थिइनन् तर विवाहपछि छोराको जन्म र अन्य घरायसी परिस्थितिले विपना फिल्ममा फर्कन पाइनन्।

‘सासूलाई मेरो सुटिङ हेर्ने असाध्यै रहर थियो। विवाहको एक/डेढ वर्षमै म गर्भवती भएँ। सन्तानका कारण काम गर्ने कुरा भएन, त्यसपछि मेरो सासुलाई क्यान्सर भयो। घरको जेठी बुहारी भएपछि उहाँलाई हेर्नुपर्‍यो’, उनले भनिन्, ‘त्यसपछि ससुरा बिरामी पर्न थाल्नुभयो, फेरि उनको हेरविचार गर्नुपर्यो। यस्तै कारण परिवारको समर्थन हुँदाहुँदै पनि मैले आफूलाई निरन्तरता दिन सकेकी थिइन। अहिले जिम्मेवारी कम छ, कामका लागि समय छ।’

यस बीचमा सामाजिक सञ्जालमा पोस्ट गरिरहँदा उनलाई फिल्ममा फर्किनुपर्ने सुझावहरु प्रशस्तै आए। यसले पनि आफूलाई सिने क्षेत्रमा फर्किन हौँस्याएको बताउँछिन्। अहिले उनको हातमा तीन/चारवटा फिल्म छन्। वर्षौंपछि सुटिङ सेटमा पुग्दा उनी भावुक हुन पुगिन्। ‘बिछोडिएको बछेडीले आमा भेटेजस्तो। वर्षौंदेखि मन परेको मान्छेलाई भेट्दा कति रुन मन लाग्छ, मलाई त्यस्तै भयो। त्यो सम्झिँदा अहिले पनि मेरो आँखा भरिन्छन्। पुराना पत्रकार साथीहरुलाई भेट्दा पनि मलाई भावुक बनायो।’

-अशेष अधिकारी/रासस

प्रकाशित: २९ कार्तिक २०८१ १७:१७ | Thursday, November 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast