यी हुन् ट्रम्प प्रशासनका उच्च अधिकारी

हिमाल प्रेस २८ कार्तिक २०८१ ११:०६
8
SHARES
यी हुन् ट्रम्प प्रशासनका उच्च अधिकारी अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसको चिफ अफ स्टाफ सुसी वाइल्ससँग। तस्बिर : रोयटर्स

काठमाडौँ– अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका लागि क्याबिनेट सदस्य र अन्य उच्च पदका अधिकारी चयन प्रक्रिया सुरु गरेका छन्। उनले रक्षा, गुप्तचर, कूटनीति, व्यापार, आप्रवासन र आर्थिक नीति निर्माण तहमा नियुक्ति प्रक्रिया अगाडि बढाएको रोयटर्सले उल्लेख गरेको छ।

ट्रम्पले गत साता सुसी वाइल्सलाई ह्वाइट हाउसको चिफ अफ स्टाफका रूपमा नियुक्त गरे। ६७ वर्षीया वाइल्सले सफल र प्रभावकारी अभियान सञ्चालन गर्ने समाचारमा उल्लेख छ। वाइल्सले ट्रम्पको पहिलो कार्यकालमा अभाव भएको अनुशासन र व्यवस्थापन सुदृढ बनाउने विश्वास गरिएको छ।

यसैगरी ट्रम्पले टम होमनलाई देशको सिमाना व्यवस्थापनको जिम्मा दिएका छन्। होमनले अवैध रूपमा अमेरिकामा रहेका र सुरक्षामा खतरा उत्पन्न गर्ने आप्रवासीलाई प्राथमिकता दिई निर्वासन गर्ने योजना बताइएको छ। होमन ट्रम्पको पहिलो कार्यकालमा आप्रवासन र भन्सारका कार्यकारी निर्देशक थिए।

ट्रम्पले संयुक्त राष्ट्रसंघको राजदूतमा एलिस स्टेफानिक नियुक्त गरेका छन्। ४० वर्षीया स्टेफानिक न्युयोर्क राज्यकी प्रतिनिधि र हाउस रिपब्लिकन सम्मेलनकी अध्यक्ष हुन्। ट्रम्पको कट्टर समर्थक उनी अमेरिकी परराष्ट्र नीतिमा ‘अमेरिका पहिलो’ नीति स्थापना गर्ने दृढ इच्छाशक्ति राख्छिन्।

यसैगरी राष्ट्रपति ट्रम्पले न्युयोर्क राज्यका पूर्वसांसद ली जेल्डिनलाई वातावरण संरक्षण एजेन्सीको प्रशासकका रूपमा नियुक्त गरेका छन्। ट्रम्पले चुनावी अभियानका क्रममा अमेरिकी ऊर्जा नीति संशोधन गर्ने प्रतिबद्धता जनाएका थिए।

फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई परराष्ट्रमन्त्री बनाउने ट्रम्पको तयारी छ। ५३ वर्षीय रुबियो अमेरिकाका प्रमुख कूटनीतिज्ञ बन्ने बाटोमा छन्। उनी चीन, इरान, क्युबालगायत अमेरिकी प्रतिद्वन्द्वीहरूसँग कडा नीति अपनाउने अधिकारी हुन्।

यसैगरी ट्रम्पले फक्स न्युजका टिप्पणीकार एवम् पूर्वसैनिक पिट हेगसेथलाई रक्षामन्त्रीको जिम्मेवारी दिएका छन्। हेगसेथ विद्यमान सैनिक नीतिका आलोचक हुन्। हेगसेथको नियुक्तिमा ट्रम्पले भने, ‘पिट कडा, बुद्धिमान र अमेरिका पहिलो नीति माथि विश्वास राख्ने व्यक्ति हुन्। उनको नेतृत्वमा अमेरिकाकी सेना पुनः बलियो हुनेछ र अमेरिका कहिल्यै पछि हट्नेछैन।’

अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकारमा कंग्रेस सदस्य माइक वाल्ट्ज नियुक्त भएका छन्। ५० वर्षीय वाल्ट्ज चीनको कडा आलोचना मानिन्छन्। राष्ट्रिय सुरक्षा सल्लाहकारले ट्रम्पलाई प्रमुख राष्ट्रिय सुरक्षा मुद्दाहरूमा जानकारी गराउने र विभिन्न एजेन्सीसँग समन्वय गर्नेछन्।

ट्रम्पले एलन मस्क र रिपब्लिकन पार्टी नेता विवेक रामास्वामीलाई सरकारको बजेट कटौती गर्ने र प्रभावकारिता हेर्ने नयाँ निकायको जिम्मा दिएका छन्। उनीहरूलाई अमेरिका स्थापनाको २५०औँ वार्षिक समारोहअघि नियमहरू कटौती गर्ने र सरकारी खर्च घटाउने जिम्मेवारी दिइएको छ।

बीबीसीका अनुसार ट्रम्पले मस्क र रामास्वामी मिलेर ‘सेभ अमेरिका’ आन्दोलनका लागि अनिवार्य रहेको ‘सरकारी कर्मचारीतन्त्रलाई भंग गर्ने, अत्यधिक नियम र अनुत्पादक खर्च कम गर्ने अनि संघीय निकायहरूको पुनर्संरचना गर्ने’ बाटो खोल्ने उल्लेख गरेका छन्।

प्रकाशित: २८ कार्तिक २०८१ ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast