धनुषा– झापाको मेचीनगरबाट सुरु भएको युवा संकल्प यात्रा सोमबार जनकपुरधाम पुगेको छ। नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वकेन्द्रीय महामन्त्री भूपेन्द्रजङ्ग शाहीलगायतको समन्वयमा सुरु भएको यात्रालाई जनकपुरधाममा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले स्वागत गरेका छन्।
त्यस अवसरमा नेता निधिले युवा संकल्प यात्राको सम्पूर्ण टोलीलाई सफलताको शुभकामना दिए। भ्रष्टाचार उन्मूलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न ‘एजेन्डा’हरूमा केन्द्रित रहेर पूर्व–पश्चिम संकल्प यात्रा सुरु गरिएको शाहीले जानकारी दिए।
यात्रामा ४० जना सदस्य सहभागी रहेको नेविसंघका केन्द्रीय सदस्य विनोद शाही ठकुरीले जानकारी दिए। युवा संकल्प यात्रामा संविधानसभा सदस्य एवं नेविसंघका पूर्वकेन्द्रीय सभापति रञ्जितकुमार कर्ण, युवा नेताहरू धमेन्द्र नेम्वाङ‚ पशुपति पोखरेल, शेख वकिल‚ प्रेमिका राना‚ नरेश यादव‚ चन्द्रादेवी जोशी, राष्ट्रिय कलाकारहरू राधिका हमाल, उदिराम खड्का, सुनिल थापा, लेलिया विश्वकर्मालगायत सहभागी छन्।
संकल्प यात्रा कात्तिक २३ गतेदेखि मेचीबाट सुरु भई कञ्चनपुरको महाकाली पुगेर समापन हुनेछ।





