दलहरू स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित

हिमाल प्रेस २२ कार्तिक २०८१ १६:२९
8
SHARES
दलहरू स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित

काठमाडौँ- राजनीतिक दलहरू स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित भएका छन्। प्रमुख दलहरू आगामी मंसिर १६ गते हुने उपनिर्वाचनको तयारीमा जुटेका हुन्। दलहरूका तर्फबाट उपनिर्वाचनका लागि केन्द्रबाट नेताहरू परिचालन हुन थालेका छन्। साथै केही दलले उम्मेदवार पनि तोकिसकेका छन्।

निर्वाचन आयोगले यसअघिनिर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। मंसिर १६ मा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिकाका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३४ गरी ४४ रिक्त भएका पदमा उपनिर्वाचन हुँदैछ।

नेकपा एमालेले स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न शनिबार सचिवालय बैठक डाकेको छ। एमाले केन्द्रीय कार्यालय च्यासलमा डाकिएको बैठकमा स्थानीय उपनिर्वाचन तयारीबारे छलफल हुने प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। एमालेले कात्तिक २२ गतेभित्र उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याउन मातहतका कमिटीलाई निर्देशन दिएको छ।

प्रचार विभागका अनुसार नगरपालिका र गाउँपालिकाको वडाध्यक्षको उम्मेदवार सम्बन्धित पालिका तहको कमिटीको सिफारिसमा जिल्लाले टुंग्याउनेछ। महानगरपालिका र उपमहानगरपालिकाका वडा तथा नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी सम्बन्धित कमिटी र जिल्लाको सिफारिसमा प्रदेश कमिटीले टुंग्याउने गौतमले बताए।

नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनमा आवश्यक समन्वय र सहजीकरण गर्न नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा नेताहरूलाई जिम्मेवारी दिएको छ। कांग्रेसका सम्बन्धित तहबाट उम्मेदवार सिफारिस गर्ने क्रम सुरु भइसकेको छ।

बुधबार बसेको बैठकले सहमहामन्त्रीलाई प्राथमिकतामा राखेर जिम्मेवारी तोकिएको छ। सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’ लाई बागमती प्रदेश, भीष्मराज आङ्दम्बेलाई कोशी, महेन्द्र यादवलाई मधेश, जीवन परियारलाई कर्णाली र गण्डकी प्रदेशको जिम्मेवारी तोकिएको छ।

केन्द्रीय सदस्य एनपी साउदलाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। केन्द्रीय सदस्य पुष्पा भुसाललाई लुम्बिनी प्रदेश समन्वयको अतिरिक्त निर्वाचन आयोगसँग समन्वयको जिम्मेवारी तोकिएको छ।

पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्मालाई प्रचार प्रसार संयोजन तथा स्थानीय तह समन्वय विभागका प्रमुख मधु आचार्यलाई स्थानीय तह समन्वयको जिम्मेवारी दिइएको छ। केन्द्रीय सदस्य नानु बास्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी तोकिएको कांग्रेसले जनाएको छ।

नेकपा माओवादी केन्द्रले आसन्न उपनिर्वाचन र पार्टीको आगामी रणनीतिका विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने सचिव दिनानाथ शर्माले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह उपनिर्वाचन परिचालनका लागि जिम्मेवारी तोकेको छ। केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेको बैठकले स्थानीय तह उपनिर्वाचन, २०८१ मा निर्वाचन परिचालनका लागि जिम्मेवारी तोकेको हो।

पार्टीले जारी गरेको विज्ञप्तिअनुसार कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की बागमतीमा शिशिर खनाल र गण्डकीमा विन्दवासिनी कंसाकार खटिने भएका छन्।

यसैगरी लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठ लाई जिम्मेवारी तोकिएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न केन्द्रीय निर्वाचन संयोजन समितिले प्रारम्भिक निर्वाचन सञ्चालन गर्ने कार्यतालिका तय गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast