मंसिर २२ मा प्रदेश सम्मेलन गर्ने कांग्रेस कोशीको निर्णय

हिमाल प्रेस १३ कार्तिक २०८१ १८:५५
14
SHARES
मंसिर २२ मा प्रदेश सम्मेलन गर्ने कांग्रेस कोशीको निर्णय

इटहरी- नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आगामी मंसिर २२ गते हुने भएको छ। नेपाली कांग्रेस प्रदेश समितिका सभापति उद्धव थापाको अध्यक्षतामा बसेको पूर्ण बैठकले पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विराटनगरमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो।

सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र आर्थिक प्रस्ताव तयारीका लागि क्रमशः महामन्त्री भूपेन्द्र राई, उमेश थापा र कोषाध्यक्ष राजेश गुप्तालाई जिम्मेवारी दिइएको प्रवक्ता यदुकुमार विष्टले जानकारी दिए। प्रवक्ता विष्टका अनुसार बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवारहरूलाई विजयी गराउन निर्वाचन परिचालनका लागि निर्वाचन हुने स्थानीय तहमा प्रतिनिधि खटाउने निर्णयसमेत गरेको छ।

त्यस्तै, नेपालकै होचो स्थान झापाको केचनाकवलदेखि संसारको अग्लो स्थान सगरमाथा रहेको सोलुखुम्बुसम्म ‘केचनाकवल–सगरमाथा जागरण अभियान’ सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ।

प्रदेश समितिले जागरण अभियानको आवश्यक तयारी र केन्द्रीय समितिद्वारा सञ्चालित सय दिने अभियानलाई सहयोग गर्नका लागि कोशी प्रदेशका ५६ प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने भएको छ।

साथै जागरण अभियानको अवधारणापत्र र प्रतिनिधिहरूका लागि कार्यविधि तयार गर्न प्रवक्ता विष्टको संयोजकत्वमा ५ सदस्यीय समिति पनि गठन गरेको छ। समितिको सदस्यमा उत्तमकुमार चौलागाईं, बाबुराम कोइराला (वासु), रञ्जिता कार्की र सदस्यसचिवमा नारायण कोइराला छन्। बैैठकमा कोशी प्रदेशमा कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरिरहेका महामन्त्री भूपेन्द्र राईले सरकारको कामकारबाहीका विषयमा जानकारी गराएका थिए।

प्रकाशित: १३ कार्तिक २०८१ १८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast