जीबी राईको नामबाट आएको भनिएको ईमेलबारे अनुसन्धान भइरहेको छ : गृहमन्त्री

हिमाल प्रेस ९ कार्तिक २०८१ २०:११ | Friday, October 25, 2024
जीबी राईको नामबाट आएको भनिएको ईमेलबारे अनुसन्धान भइरहेको छ : गृहमन्त्री रमेश लेखक।

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको नामबाट आएको भनिएको ईमेलबारे अनुसन्धान भइरहेको बताएका छन्।

सत्तारुढ दलको बैठकमा गृहमन्त्री लेखले ईमेलबारे ब्रिफिङ गर्दै नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको बताएका हुन्।

लेखकले सूर्यदर्शनलगायतका सहकारीको रकम अपचलनमा फरार रहेका जीबी राईको नाममा सञ्चारमाध्यमलाई ईमेल आएको बताएका थिए।

जीबी राईले पठाएको भनिएको ईमेलमा भनिएअनुसार भए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि थप अनुसन्धान हुने गृहमन्त्री लेखको संकेत रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

जीबी राईको नाममा केही सञ्चारमाध्यमलाई आएको ईमेलमा लामिछानेकै योजनामा सहकारीको पैसा टीभीमा लगानी गरेको दाबी गरिएको छ।

गृहमन्त्री लेखकले प्रारम्भिक सय दिनमा गरेका कामका आधारमा वर्तमान सरकार सफलतापूर्वक अगाडि बढिरहेको बताएका छन्।

बाढीपहिरोलगायत प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिको पीडालाई सम्बोधन गर्न सरकार सचेतनापूर्वक अगाडि बढ्नुपर्छ भन्ने विषयमा सत्ता साझेदार दलहरूको बैठकले पनि दृढताका साथ प्रतिबद्धता व्यक्त गरेको उनले उल्लेख गरेका छन्।

गृहमन्त्री लेखकले सरकार फेरबदल हुन्छ भन्ने निरर्थक र भ्रमपूर्ण हल्लाको पछाडि कुनै तर्क र अर्थ नरहेको बताए।

प्रकाशित: ९ कार्तिक २०८१ २०:११ | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast