ओमानसँग श्रम सम्झौता अन्तिम चरणमा

हिमाल प्रेस ११ कार्तिक २०८१ १२:२०
22
SHARES
ओमानसँग श्रम सम्झौता अन्तिम चरणमा

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमानसँग इम्प्लोई पेइङ मोडलमा श्रम सम्झौता गर्ने भएको छ। ओमानसँग द्विपक्षीय श्रम सम्झौताको अन्तिम तयारी भइरहेको मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले बताएका हुन्। श्रम सम्झौताका लागि मस्यौदा ओमान पठाइएको र ओमानले कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाएपछि श्रम सम्झौता हुनेछ।

ओमान र नेपालबीच उच्चस्तरीय छलफल भई प्रारम्भिक सहमतिसमेत भइसकेका कारण चाँडै श्रम सम्झौता हुने उनले बताए। ‘दुईपक्षीय रूपमा सम्बन्धित मन्त्रालयबीच श्रम सम्झौताको सहमति भइरहेको छ। कानुनी रूपमा टुंगो लाग्न बाँकी छ’, उनले भने। उनका अनुसार नेपालले द्विपक्षीय सहयोगका सवालमा रोजगारदातालाई जवाफदेही बनाउने विषय प्राथमिकतामा राखेको छ।

ओमानसँग रोजगारदाताले कामदार लैजाँदा लाग्ने खर्च व्यहोर्ने गरी श्रम सम्झौता हुने उप्रेतीले बताए। उनका अनुसार ओमानको मन्त्रिपरिषद्ले नेपालले पठाएको मस्यौदा स्वीकृत भएपछि श्रम सम्झौताको मिति तय हुनेछ।

मस्यौदामा ओमानमा मृत्यु भएका नेपाली कामदारको शव जतिसक्दो चाँडो नेपाल पठाउने विषय पनि समेटिएको छ। ओमानसँग श्रम सम्झौता गर्ने विषय क्याबिनेटमा पठाउने तयारी भइरहेको श्रम मन्त्रालयले जनाएको छ।

श्रम सम्झौताममा बैंकिङ च्यानलमार्फत पैसा तिर्नुपर्ने र पेमेन्ट मोडालिटीका विभिन्न विषय राखिए पनि कामदारको न्यूनतम तलबको विषय समेटिएको छैन।

सात वर्षयता बहस

नेपाल र ओमानबीच २०७४ सालयता श्रम सम्झौताको बहस हुँदै आए पनि सम्झौताले अन्तिम रूपमा पाएको छैन। २०७४ सालमा तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले ओमानसँग सम्झौताका लागि प्रक्रिया अगाडि बढाएका थिए।

ओमान र नेपालबीच श्रम सम्झौताका लागि बनेको संयुक्त बैठक (ज्वाइन्ट कमिटी) बीच सात वर्षको अन्तरमा नौ पटकभन्दा बढी दुवै देशमा छलफल गरेको श्रम मन्त्रालयले जनाएको छ।

ओमानले नेपालबाट ठूलो संख्यामा घरेलु रोजगारीमा महिला कामदार लैजान खोजेको छ। नेपालले खाडीका देश र मलेसिया महिला कामदार पठाउन प्रतिबन्ध लगाएका कारण यस विषयमा सहमति नसकेको हो।

ओमानले नेपालबाट ठूलो संख्यामा घरेलु रोजगारीमा महिला कामदार लैजान इच्छा देखाएको छ। तत्काल यो सम्भव नभएको श्रम मन्त्रालयकै एक उच्च अधिकारीले जानकारी दिए।

खाडीका देश र मलेसिया घरेलु रोजगारीमा कामदार पठाउन प्रतिबन्ध लगाएका कारण यस विषयमा सहमति जनाउन नेपाललाई अप्ठयारो भइरहेको ती अधिकारीले बताए। ‘सात वर्षयता घरेलु रोजगारीमा कामदार पठाउने विषयमा सहमति नहुँदा ओमानसँग श्रम सम्झौता हुन सकेको छैन। यसपटक पनि त्यस्तै हुन सक्छ’, उनले भने।

ओमान नेपाली कामदारको यूएई, कतार, साउदी, मलेसिया, रोमानिया र कुवेतपछिको मुख्य रोजगारदाता देशभित्र पर्छ। सरकारले वैदेशिक रोजगारीका लागि इजाजतपत्र प्राप्त संस्थामार्फत १ सय १० र व्यक्तिगत श्रम स्वीकृतिमार्फत १ सय ७८ देश खुला गरेको छ। त्यसमा ओमान पनि मुख्य रोजगारदाता देशभित्र पर्छ।

प्रकाशित: ११ कार्तिक २०८१ १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast