असिनापानीले ३५५ रोपनीको धान र कोदो नष्ट

हिमाल प्रेस ९ कार्तिक २०८१ ११:५८
20
SHARES
असिनापानीले ३५५ रोपनीको धान र कोदो नष्ट

म्याग्दी- गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ। स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मूल्यांकनअनुसार सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको हो। टोलीले बिहीबार साँझ क्षतिको विवरण सार्वजनिक गरेको हो।

बेनी–२ का वडासदस्य चन्द्रकान्त रिजालले दिएको जानकारीअनुसार असिनापानीले खेतमा पाक्नै लागेको धान र कोदोमा क्षति गरेको छ। असिनापानीले धान बालीमा क्षति भएपछि कृषि प्राविधिकसहित जनप्रतिनिधिको टोली क्षतिको विवरण संकलन गर्न खेतमा पुगेका थियो।

असिनापानीले सबैभन्दा बढी क्षति ज्यामरुककोटको गौश्वारामा भएको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए। ‘गौश्वारामा गरिएको धानखेतीमा असिना पानीले ८० प्रतिशतसम्म दाना झारेको पाइएको छ,अधिकांश ठाउमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ। किसान अहिले दाना झरेर बाँकी रहेको पराल काटिरहेका छन्। पीडित किसानलाई क्षतिपूर्ति वा राहतका लागि सम्बन्धित निकायमा अनुरोध गर्नेछौँ’, उनले भने।

असिनापानीले जिल्लाको बेनी–२ ज्यामरुककोटको सानालेख, गौश्वारा, तमाने, फापरखेत, खबरा, बगरफाँट, वडा नं ३ भकिम्लीको तोराखेत, वडा नं १ को अर्जम, रत्नेचौरलगायत ठाउँमा काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानमा क्षति भएपछि किसान चिन्तित बनेका बेनी–२ का वडासदस्य रिजालले बताए।

उनको भनाइमा असिनासहितको वर्षाले झाँट्नका लागि ठिक्क पारेको धान खेतमा नै झारिदिएको छ। त्यसैगरी नकाटेको धानका बोट ढालेको छ। दाना सबै झरेर पराल मात्र बाँकी रहेको स्थानीय किसान शन्तबहादुर नेपालीले बताए।

भित्र्याउने समयमा पानीले क्षति गरेपछि किसान चिन्तित भएको बेनी नगरपालिका–२ सानालेखका नारायण शर्माले बताए। जिल्लाको ज्यामरुककोट, खबरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत स्थानमा लगाएको बालीमा क्षति भएको हो। कृषि ज्ञान केन्द्र कार्यालय प्रमुख सञ्जीव वास्तोलाले जिल्लाका स्थानीय तहले क्षतिका विवरणहरू संकलन गर्ने काम गरिरहेकाले एकीकृत तथ्यांक कार्यालयमा नआइपुगेको बताए।

प्रकाशित: ९ कार्तिक २०८१ ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast