साफ च्याम्पियनसिप: माल्दिभ्सको पोस्टमा १३ गोल हान्दै भुटान सेमिफाइनलमा

हिमाल प्रेस ८ कार्तिक २०८१ १६:२४ | Thursday, October 24, 2024
साफ च्याम्पियनसिप: माल्दिभ्सको पोस्टमा १३ गोल हान्दै भुटान सेमिफाइनलमा

काठमाडौँ- भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्समाथि १३-० को फराकिलो जित निकाल्दै भुटान सेमिफाइनलमा प्रवेश गरेको हो। भुटानको जितमा देकी लाजोमले पाँच गोल गरिन्।

खेलको पाँचौँ मिनेटमा सोनम छोदेनले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। त्यसको दुई मिनेटपछि खेलको सातौँ मिनेटमा पेमा छिरिङले गोल गर्दै भुटानको अग्रता दोब्बर पारिन्।

खेलको १५औँ मिनेटमा डेकीले गोल गर्दै अग्रता तेब्बर पारेकी थिइन्। खेलको १८औँ मिनेटमा पेमाले गोल गर्दै भुटानलाई ४-० को अग्रता दिलाइन्। १९औँ मिनेटमा डेकीले गोल गर्दै भुटानको अग्रता ५-० को स्थितिमा पुर्‍याइन्।

खेलको ४१औँ मिनेटमा नाम्गेल डेमाले गोल गरेपछि पहिलो हाफमा भुटान ६-० को अग्रता लिन सफल भयो। खेलको ४६औँ मिनेटमा गोल गर्दै डेकीले ह्याट्रिक पूरा गरिन्। खेलको ४७औँ मिनेटमा डेकी याङ्देनले गोल गर्दै भुटानलाई ८-० को अग्रता दिलाइन्।

त्यसपछि खेलको ५२औँ मिनेटमा डेकीले व्यक्तिगत चौथो तथा टोलीका लागि नवौँ गोल गरिन्। खेलको ६५औँ मिनेटमा छिरिङ याङ्देनले गोल गर्दै भुटानलाई १०-० को स्थितिमा पुर्‍याइन्।

खेलको ६८औँ मिनेटमा छिरिङ लादेन र ७०औँ मिनेटमा डेकीले गोल गर्दै भुटानलाई १२-० को अग्रता दिलाए। त्यसपछि खेलको ८०औँ मिनेटमा छिरिङ याङ्देनले गोल गर्दै भुटानलाई १३-० को फराकिलो जित दिलाइन्।

सेमिफाइनलमा प्रवेश गर्ने क्रममा भुटानले समूह ‘बी’ मा ३ खेलबाट ७ अंक जोडेको छ। पहिलो खेलमा नेपालसँग गोलरहित बराबरी खेलेको भुटानले दोस्रो खेलमा श्रीलंकालाई ४-१ गोलअन्तरले पराजित गरेको थियो।

समूह ‘बी’ कै अर्को खेलमा घरेलु टिम नेपालले आजै श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ। नेपाललाई सेमिफाइनलमा पुग्न बराबरी खेले पुग्छ भने श्रीलंकाले जित निकाल्नै पर्ने हुन्छ। नेपालले २ खेलबाट ४ अंक जोडेको छ भने श्रीलंकाको ३ अंक छ। भुटानसँग बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ११-० गोलअन्तरले पराजित गरेको थियो।

प्रकाशित: ८ कार्तिक २०८१ १६:२४ | Thursday, October 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast