पुनःनिर्माण कोषमा कोशी सरकारले ४० करोड रुपैयाँ जम्मा गर्ने

हिमाल प्रेस ७ कार्तिक २०८१ २१:०२
12
SHARES
पुनःनिर्माण कोषमा कोशी सरकारले ४० करोड रुपैयाँ जम्मा गर्ने

इटहरी- गत असोज १२ र १३ गते आएको अविरल वर्षाले भएको क्षतिको पुनःनिर्माण र सर्मतसम्भार गर्नका लागि मर्मत तथा पुनःनिर्माण कोषमा कोशी प्रदेश सरकारले ४० करोड रुपैयाँ जम्मा गर्ने भएको छ। कोशी प्रदेश सरकारले निर्माण गरेको कोषमा ४० करोड रुपैयाँ जम्मा गरी काम गर्न सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले जानकारी दिए।

कोशी प्रदेश सरकार बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले कटौती गर्न नमिल्ने रकमबाहेक प्रदेश सरकार र वित्तीय समानीकरण अनुदान स्रोतमा चालु खर्च शीर्षकहरूमा विनियोजन भएको रकमबाट १० प्रतिशत पुग्ने गरी सबै मन्त्रालयले बजेट समर्पण गर्ने निर्णय भएको बताए।

कोशी प्रदेश सरकारले यो कोषमा मन्त्रीहरूको १० दिनको तलब जम्मा गर्ने त्यस्तै सांसदहरूलाई सम्बन्धित दलमार्फत सहयोग गर्न आग्रह गर्ने र कर्मचारी तथा अन्य सरोकारवालाहरूलाई पनि कोषमा सहयोग गर्न आह्वान गर्ने निर्णय भएको मन्त्री अधिकारीले जानकारी दिए।

बाढीपहिरोको कारण कोशी प्रदेशमा सडक, पुल, सिँचाइ, भवन, विद्यालय गरेर ४ अर्ब रुपैयाँ बढीको क्षति भएको छ। क्षति भएका संरचनालाई दीर्घकालीन र तत्काल गर्ने काम छुट्याएर पुनःनिर्माण र मर्मतसम्भारको काम द्रूत गतिमा अगाडि बढाउने सरकारको तयारी छ।

त्यस्तै प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ। आज (बुधबार) को बैठकले प्रदेश सिँचाइ नियमावली र सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी दोस्रो संशोधन निर्देशिका स्वीकृत गर्ने निर्णय समेत गरेको अधिकारीले बताए।

प्रकाशित: ७ कार्तिक २०८१ २१:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eleven =