‘कतिपय ठाउँमा मलाई तानाशाह भन्न थाले’

हिमाल प्रेस ६ कार्तिक २०८१ ९:४१ | Tuesday, October 22, 2024
‘कतिपय ठाउँमा मलाई तानाशाह भन्न थाले’ प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने तयारी नभएको स्पष्टीकरण दिएका छन्।

सरकारले अध्यादेश ल्याउने तयारी गरेको भन्दै सोमबार बेलुका प्रतिपक्षी दलका नेताले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए। त्यससन्दर्भमा प्रतिपक्षी दलले प्रधानमन्त्रीलाई जिज्ञासा राखेका थिए। जबाफमा प्रधानमन्त्रीले पार्टी फुटाएर एमालेमा मिलाउने योजना नभएको बताएका थिए।

‘विगतमा नेकपा एमालेलाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरुलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ। तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन।’ प्रधानमन्त्रीलाई उदृत गर्दै सचिवालयले भन्यो। विपक्षी दलका नेताहरूले रवि लामिछाने पक्राउका विषयमा पनि प्रधानमन्त्रीलाई जबाफ मागेका थिए। ओलीले आफूलाई प्रतिशोधको राजनीति नगरेको बताएका थिए।

‘मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन। मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु दिनुछैन। मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ।’ ओलीले भने,‘अरू दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो। समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो।’

उनले लामिछाने पक्राउपछि आफूलाई कतिपयले ‘तानाशाह’ भनेर अवाञ्छित गालीगलौज गरिएको गुनासो गरेका थिए। ‘थप तिक्तता नहोस् भनेर मैले कुनै जबाफ दिएको छैन। मलाई कुनै स्टन्टबाजी गर्नुछैन।’ ओलीले भनेका थिए,‘साथीहरुले पनि त्यसो गर्नु राम्रो होइन।

मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन। लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन।’

प्रकाशित: ६ कार्तिक २०८१ ९:४१ | Tuesday, October 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast