दूधमा आत्मनिर्भर बागलुङको छुर्पी अमेरिकामा

हिमाल प्रेस ५ कार्तिक २०८१ ८:३२ | Monday, October 21, 2024
दूधमा आत्मनिर्भर बागलुङको छुर्पी अमेरिकामा

बागलुङ- पछिल्लो समय बागलुङमा उत्पादित छुर्पीले राम्रो बजार पाएको छ। सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ। यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ। बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण हुने गरेको छ।

वार्षिक आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी संघले आर्थिक वर्ष २०८०/८१ मा मात्रै ३८ लाख ५४ हजार चार सय १० को छुर्पी अमेरिका निर्यात गरेको हो।

दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमका अनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ। ‘दूध, तथा अन्य उत्पादनहरू बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ’, गौतमले भने।

दुग्ध उत्पादक सहकारी संघमा एक हजार पाँच सय किसान आबद्ध छन्। संघले किसानबाट संकलित दूधसहित अन्य सात प्रकारका दुग्धजन्य परिकार उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ।

संघले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर बनाएको छ। सहकारीले गत आवमा सात करोड ८३ लाखको दूध, एक करोडको दही, २० लाखको घ्यु, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ। हाल सहकारी संघले छुर्पी प्रतिकिलो एक हजार दुई सयमा बिक्री गर्दै आएको छ।

सहकारीमा आबद्ध किसानले सहकारीमा आवद्ध भएपछि दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन्। सहकारी संघमा १६ कर्मचारीले संकलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको सहकारीका लेखापाल गणेश खड्काले बताए।

कृषकले उत्पादन गर्ने, सहकारीले संकलन गर्ने र सहकारी संघले दूध प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री गरेर सहकारीको असल अभ्यास गरेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियन्ता रामबहादुर जिसीको भनाइ छ।

दैनिक यहाँका काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका किसानले उत्पादन गरेको दूध खरिद गरी १४ वटा सहकारीमार्फत संघले बजारीकरण गर्दै आएको छ।

प्रकाशित: ५ कार्तिक २०८१ ८:३२ | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast