वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित छ : गृहमन्त्री लेखक

हिमाल प्रेस ४ कार्तिक २०८१ १८:१२
8
SHARES
वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित छ : गृहमन्त्री लेखक

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले राज्यका तर्फबाट प्रदान गरिने सम्पूर्ण सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने बताएका छन्। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयमा आइतबार आयोजित ‘ई–चलान’ (डिजिटल चिट) प्रणालीको उद्घाटन गर्दै उनले सबै नागरिकलाई सरल, सुलभ र पारदर्शी तथा झण्झटिलो र जटिलतारहित ढङ्गबाट सेवा प्रवाह गरिने बताए।

‘कोही पनि नागरिकले सरकारी सेवा सरल ढङ्गबाट प्राप्त गर्न सकून्, कुनै जटिलता, अपारदर्शीता र भ्रष्टाचार नहोस्, सेवाग्राहीले सहजै सेवा प्राप्त गर्न गरुन् भन्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको छ,’ गृहमन्त्री लेखकले भने।

वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित भएको जानकारी दिँदै उनले प्रविधिको प्रयोग गरी पूर्णसुशासनयुक्त मुलुक बनाउने बाटोमा अघि बढ्ने स्पष्ट पारे।

गृहमन्त्री लेखकले सडक नियम उल्लंघन गरेको अवस्थामा डिजिटल माध्यमबाट सवारीसाधनका चालकलाई कारबाही र तत्कालै जरिवाना तीर्न सकिने व्यवस्था कार्यान्वयनमा आएसँगै ट्राफिक कारबाहीमा नयाँ आयाम थपिएको बताए।

यो व्यवस्था कार्यान्वयन गर्न ट्राफिक प्रहरीको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्दै उनले भने, ‘आजदेखि प्रारम्भ भएको छ, अब कार्यान्वयन गर्नुपर्छ, यो प्रणालीले सबैलाई सरलता प्रदान गरोस्, सफल प्रणालीका रुपमा प्रयोग गरेर उदाहरणीय काम गर्न सकोस्।’

बर्सेनि सडक दुर्घटनाबाट ठूलो जनधनको क्षति हुँदै आएको उल्लेख गर्दै गृहमन्त्री लेखकले सरोकारवाला सबैको साझा प्रयत्नबाट मात्रै सडक दुर्घटना न्यूनीकरण गर्न सकिने बताए।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ढिलै भए पनि डिजिटल सवारी चालक अनुमतिपत्र वितरण र ट्राफिक कारबाहीको क्षेत्रमा महत्वपूर्ण कामको थालनी भएको बताए।

‘सवारी चालक अनुमतिपत्र हातहाती दिन सक्नुपर्ने हो, तर अहिले पनि २२ लाख चालकलाई अनुमतिपत्र दिन सकेका छैनौँ, नियमन गर्ने प्रणालीको व्यवस्था ग¥र्यौँ, यो ठूलो काम हो,’ उनले भने।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सवारी चालक परिचयपत्र नपाएका नागरिकले नागरिक एपमार्फत अनुमतिपत्र देखाउन सक्ने व्यवस्था भएसँगै सवारी लाइसेन्स वितरणमा ऐतिहासिक सुरुआत भएको बताए।

क्यूआर कोडसहितको डिजिटल लाइसेन्स ‘रिड’ गर्न र सडक नियम उल्लंघनमा कारबाही गर्न बागमती प्रदेश सरकारले ट्राफिक प्रहरीलाई सुरुआती चरणमा एक सय चार मोबाइल उपलब्ध गराएको जानकारी दिँदै उनले आवश्यकताअनुसार प्रहरीलाई थप पाँच सय मोबाइल उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे।

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले न्यून साधनस्रोतको उपलब्धताकाबीच पनि ट्राफिक प्रहरीले सडक व्यवस्थापन र यात्रु सुरक्षालाई प्रभावकारी बनाउँदै आएको बताए।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरत बोहराले अत्याधिक सवारीसाधनको चाप, सीमित सडक सञ्जाल, सडक नियम पालना नगर्ने प्रवृत्तिलगायतले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको बताए।

यसरी हुन्छ ट्राफिक कारबाही

यो प्रणाली कार्यान्वयनमा आएसँगै अब सवारी चालक नागरिकले ट्राफिक नियम उल्लंघनको कसुरमा नागरिक एपमा भएको क्यूआर कोडसहितको चालक अनुमतिपत्र देखाएपछि ट्राफिक प्रहरीले नेपाल प्रहरीको मोबाइल एपमार्फत उक्त कोड स्क्यान गरी कारबाही गर्नेछन्। यसरी कारबाही गर्ने प्रक्रिया नै ‘इ–चलान’ हो।

उक्त विवरण नागरिक एप र यातायात व्यवस्था विभागको सिस्टममार्फत ट्राफिक प्रहरीको सिस्टममा प्राप्त हुने व्यवस्था मिलाइएको ट्राफिक प्रहरी निरीक्षक दिपेन्द्रप्रसाद साहले जानकारी दिए। ट्राफिक कारबाहीका क्रममा सवारी चालकले नागरिक एपमा भएको क्यूआर कोडसहितको सवारी अनुमतिपत्र देखाउनुपर्नेछ।

यसपछि ट्राफिक प्रहरीले मोबाइल एपमा आफ्नो कम्प्युटर कोड लगइन गरी सवारी चालकको अनुमतिपत्र स्क्यान गर्ने र कुनै पनि काजपत्र नलिइ गन्तव्यमा पठाइदिनेछन्। सवाची चालक अनुमति पत्रको सम्पूर्ण रेकर्ड साथै कसुर, सवारी नम्बरलगायतको विवरण ‘ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम’ (टिभिआएस) मा अद्यावधिक हुनेछ।

सवारी चालकले प्रयोग गरेको नागरिक एपमा चिट नम्बरसहितको विवरण जानेछ। चालकले उक्त पूर्जी नम्बरका आधारमा डिजिटल पेमेन्ट गरेपछि उक्त कसुरबाट मुक्त भएको जानकारी निजकै एपमा देखाउने प्रहरी निरीक्षक साहले बताए।

कसुरबापतको जरिवाना नतिरेसम्म वा गम्भीर प्रकृतिका कसुर गरेका अवस्थामा सचेतना कक्षा नलिएसम्म एपमा सूचना आइरहने व्यवस्था गरिएको छ।

प्रकाशित: ४ कार्तिक २०८१ १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =