‘सौदाबाजी गरेको होइन, खुला दिलले दिएको जग्गा लिएका हौँ’

हिमाल प्रेस ३० असोज २०८१ १७:३९ | Wednesday, October 16, 2024
‘सौदाबाजी गरेको होइन, खुला दिलले दिएको जग्गा लिएका हौँ’

काठमाडौँ- सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङले खुला दिलले दान गरेको जग्गा स्वीकारेको बताएको छ।

भाटभटेनी सञ्चालक गुरूङ र उनकी पत्नी सावित्री गुरूङले कीर्तिपुरमा दिएको जग्गा पार्टी कार्यालय निर्माणका लागि स्वीकारेर आलोचना हुन थालेपछि एमालेले यस्तो स्पष्टीकरण दिएको हो।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका गुरूङले दान गरेको जग्गा पार्टी कार्यालय बनाउन एमालेले लिएपछि चौतर्फी आलोचना भइरहेको छ। तर, एमालेले भने जग्गा स्वीकार गर्दा कुनै सौदाबाजी र लेनदेन नभएको दाबी गरेको छ।

गुरूङविरूद्ध चलिरहेको मुद्दा उनी आफैंले सामना गर्ने एमालेले बताएको छ। ‘अन्तरमनबाट पारदर्शी र खुला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौँ। यसमा कुनै किसिमको पनि सौदाबजी र लेनादेना छैन। उहाँको नाममा विचाराधीन रहेका मुुद्दाहरूको बारेमा उहाँ आफैँले फेस गर्ने हो, संविधान, कानुनभन्दा माथि कोही पनि छैन,’ एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति निकालेर भनेका छन्।

गौतमले लोकतान्त्रिक मुलुकहरूमा पनि आमरूपमा व्यवसायी व्यक्तिहरूबाट सहयोग गर्ने परम्परा र अभ्यास रहेको बताउँदै कथित शुुद्धतावादका नाममा गरिने तर्क–वितर्कको कुनै औचित्य नहरहेको उल्लेख गरेका छन्।

भाटभटेनी सञ्चालक गुरूङ विद्यार्थीकालदेखि अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको र पार्टीको वैचारिक तथा राजनीतिक सामिप्यतामा रही कार्य गरेको उनले बताएका छन्।

जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर अतिश्योक्तिपूर्ण टिकाटिप्पणीहरू खेदजनक रहेको बताउँदै एमालेले ७५ वर्ष लामो विरासत बोकेको पार्टीका विपक्षमा लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य रहेको एमालेले बताएको छ।

प्रचार विभाग प्रमुख गौतमले यही असोज २४ गते बसेको सचिवालय बैठकले संस्थागत रूपमा स्वीकार गरी सहयोगका लागि गुरूङलाई धन्यवादसमेत दिएको गौतमले उल्लेख गरेका छन्।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठकबाट केन्द्रीय कार्यालय निर्माणका लागि सहयोगको अह्वान भएको र पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कमिटी समेत गठन भएको एमालेले जनाएको छ।

भाटभटेनीका सञ्चालक गुरूङले दान गरेको १० रोपनी १४ आना जग्गामा एमालेले पार्टीको केन्द्रीय कार्यालय निर्माण गर्दैछ। गत असोज २५ गते एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालय भवनको शिलान्यास गरेका थिए।

प्रकाशित: ३० असोज २०८१ १७:३९ | Wednesday, October 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast