बीपी राजमार्ग भोलिबाट खुलाउने तयारी, रातिको समयमा गाडी चलाउन रोक

हिमाल प्रेस २८ असोज २०८१ १३:३२
16
SHARES
बीपी राजमार्ग भोलिबाट खुलाउने तयारी, रातिको समयमा गाडी चलाउन रोक बीपी राजमार्गमा खोलाको बगरमा बनाइएको डाइभर्सन

काठमाडौँ- काठमाडौँलाई तराई तथा पूर्वी जिल्लाहरूसँग जोड्ने छाटो बाटो बीपी राजमार्ग मंगलबारबाट सञ्चालनमा आउने भएको छ। आज साँझसम्म सडक भत्किएका ठाउँमा डाइभर्सन तयार पारेर मंगलबारबाट राजमार्ग सञ्चालन गर्ने तयारी गरिएको हो।

सडक डिभिजन भक्तपुरका सीडीई सुमन योगेशले गाडी सञ्चालन हुने गरी डाइभर्सन तयार पारेर भोलिबाट राजमार्ग सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी दिए।

‘ठाउँठाउँमा सडक भत्किएको छ, बगरमै डाइभर्सन बनाउनुपरेको छ,’ योगेशले हिमालप्रेससँग भने,‘आज साँझसम्म सबै डाइभर्सन तयार हुन्छ। भोलिदेखि बीपी राजमार्ग सञ्चालनमा आउँछ।’

वैकल्किप रूपमा आवतजावत गर्न डाइभर्सन बनाइए पनि सर्तकताका साथ गाडी सञ्चालन गर्न उनले आग्रह गरे। योगेशले भने,‘बगरमा डाइभर्सन बनाइएको छ। सुख्खा पहिरोको जोखिम टरिसकेको छैन। गाडी चलाउँदा त्यसतर्फ ध्यान दिन जरूरी छ।’

उनले रातिको समयमा यो राजमार्गबाट गाडी नचलाउन डिभिजन कार्यालयले अनुरोध गरेको बताए।

‘साना सवारी साधनको अवागमनमा खासै समस्या देखिएन, बसहरूलाई के गर्ने भन्ने हो, बस चलाउन केही समस्या देखिएको छ,’ सीडीई योगेशले भने,‘बस सञ्चालन हुनेगरी ट्र्याक खोलाउँदा केही समय लागेको हो। साँझसम्म तयार हुन्छ।’

गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेसी बर्षेखोला खण्ड (काभ्रे) को करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्णरूपले बगेपछि डिभिजन कार्यालयले ट्र्याक खोलाई डाइभर्सन तयार पारेको हो।

सीडीई योगेशल चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म तयार भइसक्ने बताए। डाइभर्सन तयार भइसकेपछि यसअघि बीपी राजमार्गमा यातायात सञ्चालनका लागि अनुमतिप्राप्त सवारी साधन सावधानीपूर्वक सञ्चालनका लागि योग्य हुने उनको भनाइ छ।

प्रकाशित: २८ असोज २०८१ १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eight =