राष्ट्रपतिले गरे स्थायित्व, सुशासन र समृद्धिको कामना, प्रधानमन्त्री भन्छन्, सद्‌भावका साथ विजया दशमी मनाऔँ

हिमाल प्रेस २६ असोज २०८१ ७:२६ | Saturday, October 12, 2024
राष्ट्रपतिले गरे स्थायित्व, सुशासन र समृद्धिको कामना, प्रधानमन्त्री भन्छन्, सद्‌भावका साथ विजया दशमी मनाऔँ

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशीर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख गर्दै दसैँको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन्।

‘विजया दशमी, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुखशान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु’, शुभकामना सन्देशमा उल्लेख छ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाका बीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गरेका छन्।  उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरे। ‘जो जहाँ छौँ, पीडामा परेकाहरुको पीडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु’, ओलीले भने।

प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालीको दसैँ टीका उल्लासपूर्ण हुन नसकेको समेत बताएका छन्।

‘विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ। भारी मनकासाथ दसैँको उल्लासमा रमाउनुपर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्था र म पनि रमाउन सकिरहेको छैन’, उनले भनेका छन्, ‘दसैँअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त जेष्ठ नागरिकहरुले जीवन गुमाउनुपर्यो। कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो।’

प्रकाशित: २६ असोज २०८१ ७:२६ | Saturday, October 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast