लुम्बिनी- दसैँं नेपालीहरूको ठूलो पर्व हो। यो पर्वमा कतिपयले भ्रमण गरेर मनाउने सोच बनाएका हुन्छन्। तपाईँ पनि दसैँको छेको पारेर भ्रमण गर्ने योजनामा हुनुहुन्छ भने उपयुक्त गन्तव्य बुद्धजन्मस्थल लुम्बिनी र बुद्धसँग जोडिएका स्थल हुन सक्छन्।
शान्ति, करुणा र सत्मार्गको प्रतीकका रुपमा बुद्धलाई विश्वले अंगीकार गरिरहेको छ। त्यसैले शान्तिप्रिय र ध्यान गर्न इच्छुकहरूले दसैँतिहार, छठलगायतका पर्वहरूमा बुद्धशिक्षा ग्रहण गरी लुम्बिनी भ्रमणमा बिताउन सकिन्छ। यतिखेरको मौसम न त जाडो न त गर्मीको छ। लुम्बिनी भ्रमणका लागि यो मौसम उपयुक्त छ। बुद्धप्रति आस्था राख्नेहरूका लागि बुद्धजन्मस्थल यसै पनि पवित्र हो। त्यसमाथि बुद्धको शिक्षा जीवनउपयोगी छ।
इसापूर्व ६२३ मा यहाँको सुन्दर र पवित्र बगैँचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता, शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्म भएको थियो।
यो पावनभूमि संसारभरिका बौद्धमार्गी तथा शान्तिप्रेमी सबै मानिसबीच विश्वशान्तिको मुहानका रूपमा प्रसिद्ध छ। ‘दसैँतिहारजस्ता पर्वको बिदा सदुपयोग गर्नेहरूका लागि यो मौसम असाध्यै उपयुक्त छ’, लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले भने।
उनका अनुसार बुद्धजन्मस्थल लुम्बिनी आएर बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर, बुद्धको जन्मस्मारक, पुष्करणी पोखरी, अशोक स्तम्भ, शान्तिदीप, केन्द्रीय नहरमा डुंगामा सयर गर्न सकिन्छ। यसका अतिरिक्त केन्द्रीय नहरको दायाँ र बायाँतर्फ रहेका विभिन्न देशका विहारहरूको भ्रमणले बिदा निकै उपलब्धिमूलक हुने डा. राईको विश्वास छ।
लुम्बिनी सन् १९९७ देखि विश्व सम्पदासूचीमा सूचीकृत गरिएको छ। हरेक वर्ष संसारभरबाट लाखौँको संख्यामा तीर्थालु, पर्यटक तथा अध्येताहरू लुम्बिनीको भ्रमण गर्छन्। गत वर्ष सन् २०२३ मा आन्तरिक तथा बाह्य गरी १० लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्।
के के छन् लुम्बिनीमा?
लुम्बिनी विश्वभरका लाखौँ मानिसको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइसकेको र सुन्दर, शान्त वाटिकाका रुपमा विकसित हुँदै गइरहेको छ।
मायादेवी मन्दिर : यस पवित्र स्थलमा रहेका सम्पूर्ण धरोहरहरूमध्ये मायादेवी मन्दिर प्रमुख आकर्षणको केन्द्रविन्दु हो। बुद्धको जन्मदृश्यसहितको प्राचीन मायादेवी मूर्ति यस मन्दिरभित्र अवस्थित छ। मन्दिरभित्रका भग्नावशेषहरू इसापूर्व पाँचौँ शताब्दीदेखि सातौँ शताब्दीसम्मका छन्।
जन्मस्मारक शिला : जन्मस्मारक शिला एक गहिरो कोठामा रहेको छ, जसले भगवान् बुद्धको जन्म विन्दुलाई स्पष्ट देखाउँछ। मायादेवी मन्दिर परिसरको सघन उत्खनन्पछि यो शिला सन् १९९६ मा पत्ता लागेको हो।
मायादेवी मूर्ति : मायादेवीको मूर्तिलाई जन्म मूर्ति पनि भनिन्छ। चौथो शताब्दीमा निर्मित यस मूर्तिले बुद्ध भगवान्का जन्मदृश्यलाई देखाएको छ। मायादेवीले सहाराको लागि दाहिने हातले रुखको हाँगा समात्नुभएको छ। देब्रेपट्टि छेउमा उहाँकी बहिनी प्रजापति उभिनुभएको छ भने दुई देवगणहरू भगवान्को स्वागतका लागि तयारी अवस्थामा देखिन्छन्। नवजात बुद्धको मूर्ति बीचमा देखिन्छ।
अशोक स्तम्भ : इसापूर्व २४९ मा सम्राट् अशोकले स्थापना गरेको यस अशोक स्तम्भमा कुँदिएका शिलालेखले भगवान् गौतम बुद्धको जन्म लुम्बिनीमा भएको तथ्यको ऐतिहासिक प्रमाण दिन्छ। बुद्धको जन्मस्थल र लुम्बिनीको सम्बन्धमा यो स्तम्भमा भएको शिलालेख नै सबैभन्दा महत्त्वपूर्ण, आधिकारिक तथा ऐतिहासिक अभिलेख हो।
पवित्र पोखरी (पुष्करिणी) : अशोकस्तम्भको दक्षिणमा पवित्र पुष्करिणी अवस्थित छ। मायादेवीले बुद्ध भगवान्लाई जन्म दिनुभन्दाअगाडि यहाँ नुहाउनुभएको थियो। साथै भगवान्लाई पनि यहाँ प्रथम स्नान गराई शुद्ध बनाइएको थियो भन्ने विश्वास छ।
विहार क्षेत्र : प्रा. केन्जो टांगेद्वारा तयार पारिएको लुम्बिनी गुरुयोजना नेपाल सरकार तथा संयुक्त राष्ट्रसंघबाट सन् १९७८ मा पारित भएर लागू भइरहेको छ। गुरुयोजना क्षेत्रले ३ वर्गमाइल क्षेत्रफल ओगटेको छ। यस क्षेत्रलाई प्रत्येक १ वर्ग माइलका ३ क्षेत्रहरूमा विभाजित गरी पैदल बाटो र केन्द्रीय नहरले जोडिएको छ- पवित्र उद्यान, विहार क्षेत्र र नयाँ लुम्बिनी ग्राम।
प्रा. केन्जो टांगेको डिजाइनको प्रमुख आकर्षण नै दक्षिणी भागमा अवस्थित पवित्र उद्यान हो। यस क्षेत्रको डिजाइको प्रमुख उद्देश्य आध्यत्मिकता, शान्ति, विश्व भ्रातृत्व र अहिंसा झल्कने वातावरणको सृजना गर्नुका साथै संसारका लागि भगवान् बुद्धको सन्देश प्रतिबिम्बित गर्नु हो।
पवित्र उद्यानमा पुरातात्त्विक तथा ऐतिहासिक धरोहर अवस्थित छन्। बगैँचा र सुन्दर पोखरीहरूले यस क्षेत्रलाई अत्यन्त मनमोहक बनाएका छन्। विहार क्षेत्रलाई केन्द्रीय नहरले दुई भागमा विभाजित गरेको छ। पूर्वी विहार क्षेत्रमा १३ वटा प्लट थेरवादीहरूका लागि र पश्चिम विहार क्षेत्रमा २९ वटा प्लट महायानी बौद्धमार्गीहरूका लागि छुट्याइएको छ।
सांस्कृतिक केन्द्रमा अनुसन्धान केन्द्र तथा पुस्तकालय, सूचनाकेन्द्र र संग्रहालय अवस्थित छन् जसबाट बौद्ध धर्मसम्बन्धी अध्ययन तथा अनुसन्धानकर्ताहरूलाई सुविधा पुग्दछ। गुरुयोजना क्षेत्रको उत्तरी भाग नयाँ लुम्बिनी ग्रामको रुपमा विकास भइरहेको छ।
यात्रु तथा पर्यटकहरूले यस स्थानमा आरामदायी होटल, लज, रेस्टुरेन्ट तथा अन्य सुविधा प्राप्त गर्नेछन्। लुम्बिनीलाई बाहिरी संसारसँग जोड्ने यस क्षेत्रमा दुर्लभ पक्षी सारस आरक्ष केन्द्र पनि स्थापना गरिएको छ। जापानको धार्मिक संगठन निप्पोन्जन म्योहोजीद्वारा स्थापित विश्व शान्ति स्तुप यसै क्षेत्रमा अवस्थित छ।
लुम्बिनीसँगै कपिलवस्तु, रामग्राम र तिलौराकोट घुमौँ
सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको स्थान तिलौराकोट (प्राचीन कपिलवस्तु) शाक्य राज्यको राजधानी थियो। यो स्थल लुम्बिनीदेखि २८ किमि पश्चिममा पर्दछ।
इसापूर्व नवौँ शताब्दीदेखि सन् दोस्रो शताब्दीसम्मका पुरातात्त्विक भग्नावशेषहरूका साथै प्राचीन दरबारको पूर्वी तथा पश्चिमी द्वार यहाँ देख्न सकिन्छ। तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचीकृतको तयारी भइरहेको छ।
अहिले यहाँ सरसरफाइ गराएर चिटिक्क पारिएको छ। यसैगरी कपिलवस्तुमा बुद्धले ज्ञान प्राप्त गरेपछि गृहनगर कपिलवस्तु आउँदा प्रथम पटक पिता शुद्धोधनलाई भेटेका प्राचीन निग्रोधाराम छ।
यसैगरी क्रकुछन्द बुद्धको जन्मस्थान गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थान निग्लिहवा पनि छ। यी दुवै स्थानमा अशोक स्तम्भ छ। यर्सगरी हजारौँ शाक्यहरूको नरसंहार गरिएको सगरहवा, बुद्धस्थलहरू निग्लीहवा, सिसहनिया पनि छ।
झराही खोलाको किनारामा अवस्थित रामग्राम स्तुप इँटाद्वारा निर्माण भएको छ। सात मिटर अग्लो स्तूपमा भगवान् बुद्धको अस्तु (अष्टधातुमध्ये एक) रहेको छ। यो स्तूप रामग्रामका राजाले बनाउन लगाएका हुन्।
उनी भगवान् बुद्धका अस्तु पाउने आठौँ राजा थिए। बौद्धग्रन्थअनुसार सम्राट् अशोकले अन्यत्रबाट झैँ उक्त स्तूपबाट पनि अस्तु झिकी चौरासी हजार स्तूप बनाउन चाहन्थे तर त्यसो गर्न दिइएन। यो पवित्र स्थान नवलपरासी जिल्लाको सदरमुकाम परासी बजारदेखि ४ किमि दक्षिणपूर्वमा पर्दछ।
यसैगरी लुम्बिनीदेखि ५७ कि.ि पूर्वमा प्राचीन कोलीय वंशको राजधानी देवदह अवस्थित छ। यो स्थल भगवान् बुद्धका माता मायादेवी तथा प्रजापति र राजकुमारी यशोधराको माइतीका रुपमा चिनिन्छ। बुद्धत्व प्राप्तिको सात वर्षपछि भगवान् बुद्ध यहाँ आएका थिए। यद्यपि देवदहलाई पुरातात्त्विक रुपमा भने पुष्टि गर्न बाँकी छ।
देवदह वरिपरि अन्य पुरातात्त्विक स्थलहरू कुमारवर्ती, खयरडाँडा, वैरिमाई, कन्यामाई, भवानीपुर (देवीदमार), माथागढी आदि रहेका छन्।
अन्य आकर्षण : लुम्बिनी शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल भएकाले अद्वितीय आध्यात्मिक तीर्थस्थल त हँदै हो तथापि यसको महत्त्व त्यति मै सीमित हुँदैन। यसको जैविक विविधता र मनोरम प्राकृतिक दृश्यले प्रकृतिविद्, वनस्पतिविद्, जीवशास्त्रीहरूलाई पनि मोहनी लगाउँछ। लुम्बिनीमा करिव २५० प्रजातिका चराहरू छन्, जसमध्ये सारसलगायतका कतिपय दुर्लभ प्रजाति पनि पर्दछन्। लुम्बिनीमा अजिंगर, नीलगाई जस्ता दुर्लभ जन्तुहरू पनि पाइन्छन्।