काठमाडौँ- प्रहरीले ज्येष्ठ नागरिकको रकम डकैती गरेको आरोपमा बाराबाट चार जना भारतीय नागिरकलाई पक्राउ गरेको छ।
कलैया उपमहानगरपालिका–१ स्थित प्रभु बैंकअगाडिबाट ज्येष्ठ नागरिकको साथबाट ५० हजार रूपैयाँ डकैती गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण थाना बेताही, ग्राम पञ्चायत रानी पोखरी–४३ का ५९ वर्षीय सुरेशप्रसाद बनिया, सोही स्थानका ४५ वर्षीय शर्मा मुखिया, ४४ वर्षीय शैलेश तिवारी र बिहार मुज्जफरपुर जिल्ला ग्रामपञ्चायत बनजरिया थाना सकराका ३४ वर्षीय रवि दास रहेका छन्।
लुटपाट भएका ज्येष्ठ नागरिकको नाम प्रहरीले गोप्य राखेको छ। प्रहरीका अनुसार उनी कलैया उपमहानगरपालिका वडा नम्बर १३ का वासिन्दा हुन्।
असोज १ मा प्रभु बैंकबाट रकम झिकी घरतर्फ जाँदै गर्दा बीआर २२ बीजे ३१६४ भारतीय प्लेट नम्बरको मोटरसाइकलमा आएका दुई र अन्य दुई गरी चार जनाको समूहमा रहेका उनीहरू छुरा देखाई ज्येष्ठ नागरिकको साथ पैसा लुटेका थिए।
खोजतलासका क्रममा ज्येष्ठ नागरिकको रकम लुट्ने उनीहरू पुनः सोही स्थानमा देखा परेपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
फेरि त्यही स्थानमा लुटपाट गर्ने योजनाका साथ उनीहरू त्यहाँ पुगेको प्रहरीको भनाइ छ। प्रहरीले लुटपाटमा उनीहरूले प्रयोग गरेको मोटरसाइकलसमेत बरामद गरेको छ।
पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।