संक्रमण रोक्न स्वास्थ्य र खानेपानी मन्त्रालयले सहकार्य गर्ने

हिमाल प्रेस १६ असोज २०८१ २०:०३
6
SHARES
संक्रमण रोक्न स्वास्थ्य र खानेपानी मन्त्रालयले सहकार्य गर्ने

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बाढी, पहिरो र डुबानजस्ता विपद्पछि फैलन सक्ने संक्रामक रोग रोकथामका उपाय पहिल्याउनका लागि राज्यका तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानी सम्बद्ध अधिकारीसँग छलफल गरेका छन्।

मन्त्रालयमा भएको बैठकमा उनले बाढी, पहिरोपछि पानीका स्रोत प्रदूषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेङ्गुलगायत संक्रामक रोग लाग्न नदिन आ–आफ्नोतर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोग गर्न आग्रह गरे।

विपद्का समयमा स्वास्थ्यकर्मीले पुर्‍याएको योगदानको प्रशंसा गर्दै मन्त्री पौडेलले भने, ‘स्वास्थ्यकर्मीले विपद्का समयमा बिरामीको उपचारका लागि पुर्‍याएको भूमिका सराहनीय छ, अब यसपछि फैलनसक्ने रोगबाट नागरिकलाई जोगाउन लाग्नुहोला। आवश्यक केही परे भन्नुस्, हामी सघाउन तयार छौँ।’

उनले खानेपानीको शुद्धता बढाउन र कुनै पनि संक्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। यसका लागि मातहतका सबै निकायलाई परेको अप्ठ्यारो फुकाउन मन्त्रालय लाग्ने उनको भनाइ थियो।

बैठकमा खानेपानीमन्त्री प्रदीप यादवले सहकार्यको प्रस्तावका लागि मन्त्री पौडेललाई धन्यवाद दिँदै पानीको शुद्धता बढाएर नागरिकलाई शुद्ध खानेपानी दिनका लागि शुुद्धीकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने बताए।

बैठकमा बाढी, पहिरोबाट बढी प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कोशी, मधेश तथा गण्डकीलगायत प्रदेशका स्वास्थ्य सचिवले आफूहरूले प्रदान गरिरहेको सेवाबारे जानकारी गराउँदै खानेपानीको शुद्धीकरण तथा सचेतना फैलाउन मन्त्रालयको सहयोग आवश्यक रहेको बताए।

मन्त्री पौडेलले दुईवटै मन्त्रालय मिलेर तत्काल सहयोग माग भएका ठाउँमा पठाउने र आवश्यक परेका ठाउँमा विशेष स्वास्थ्य टोली खटाउने प्रतिबद्धता जनाए। उनले संघीय राजधानी उपत्यकामा जनसंख्या पनि बढी रहेको र अहिले संक्रमणको जोखिम बढी रहेकाले बढी प्राथमिकता दिएर संक्रमण रोक्न सचेतनासँगै रोकथामका उपाय अपनाइने बताए। यसका लागि प्रदेश र महानगरहरूसँग हातेमालो गर्ने उनको भनाइ थियो।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बाढीका कारण खानेपानीका स्रोत प्रदूषित भएकाले आफूहरूले ट्याङ्करबाट किनेरै शुद्धीकरणका उपाय अपनाइ खानेपानी वितरण गरिरहेको जानकारी गराए।

प्रकाशित: १६ असोज २०८१ २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast