राजधानीमा तरकारीको उपलब्धता सहज हुँदै

हिमाल प्रेस १४ असोज २०८१ १८:५० | Monday, September 30, 2024
राजधानीमा तरकारीको उपलब्धता सहज हुँदै

काठमाडौँ– बाहिरी जिल्लाबाट फलफूल तथा तरकारी भित्र्याउने क्रम बढेसँगै राजधानीमा फलफूल तथा तरकारीको उपलब्धतामा सहज हुँदै गएको छ। वर्षा र बाढीको प्रभावले फलफूल तथा तरकारी भित्र्याउन नसकिएपछि राजधानीमा अभाव हुँदै गएको थियो। फलफूल तथा तरकारीको परिमाण भित्र्याउने क्रम सोमबारदेखि बढ्न थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

राजधानीमा शनिबार एक सय ५६ टन फलफूल तथा तरकारी भित्र्याइएको थियो। आइतबार एक सय ७९ टन फलफूल र तरकारी भित्र्याइएको थियो। सोमबार दिउँसोसम्म चार सय ५० टन फलफूल तथा तरकारी भित्र्याइएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए।

राजमार्ग खुलेर सवारी चल्न थालेपछि राजधानी ल्याइने फलफूल तथा तरकारीको परिमाण वृद्धि हुन थालेको हो। तरकारी फलफूल भित्र्याउने क्रम बढेसँगै मूल्य पनि घट्ने समितिले जनाएको छ। सामान्य अवस्थामा राजधानीमा छ सय देखि सात सय टनसम्म फलफूल तथा तरकारी भित्र्याइने गरेको उनले बताए।

पूर्वी एवं मध्य नेपालमा तीन दिनसम्म परेको भारी वर्षासँगैको बाढी र पहिरोले मुख्य सडक अवरुद्ध भएपछि राजधानीमा फलफूल तथा तरकारी ल्याउन कठिनाइ भएको हो। थोरै परिमाणमा मात्र ल्याइएपछि फलफूल र तरकारीको मूल्य वृद्धि भएको छ।

सवारी खुलेसँगै जाममा बसेका सवारीसाधन भित्रने क्रम बढेको छ। जाममा फसेका सवारीले बोकेका तरकारी केही मात्रामा बिग्रिएको जनाइएको छ। मंगलबारदेखि भने ताजा तरकारी र फलफूल राजधानी भित्र्याइने समितिले जनाएको छ।

राजधानीमा धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, मधेश प्रदेशका केही जिल्लाबाट फलफूल तथा तरकारी ल्याउने गरिएको छ। त्यसैत भारतबाट पनि फलफूल तथा तरकारी ल्याउने गरिएको समितिले जनाएको छ।

प्रकाशित: १४ असोज २०८१ १८:५० | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast