राष्ट्र सेवक हौँ, हामी सेना–प्रहरी
आज आफ्नै घर डुब्यो कहाँ दिउँ जाहेरी
म एक्लो छोरा, मेरो घरको खम्बा
आज रुँदै सेवामा छु आफ्नै घर बग्दा ।
गस्तीमा हिड्दै गर्दा याद आयो घरको
लड्दै छ कान्लो र करेसाबारी परको
याद आउँछ बुढी, आमा अनि बच्चाको
अहोरात्र खटी सेवा गरेको छु नेपाल आमाको
त्रिशुलीको बेग उग्र भयो भन्ने सुनेको छु
यता ज्यान दिई खटिरहँदा मन उतै भुलेको छु
उद्धार गरिएकाको अनुहारमा देख्छु आफ्नै परिवारको झल्को
मेरो घरमा कसले उद्धार गर्याे होला, याद आउँछ पलपलको
म सँगै जीवन बचाउन गएको साथीलाई भेलले बगायो
उद्धार गर्दागर्दै आफनै जीवन देशका लागि चढायो
निल्यो एक वीर योद्धा बाढीले, सहयोगी हात पाएन
मिडियाले न्युज पाए तर सरकारले चाल पायो–पाएन ?
टाउको माथि हेलिकोप्टर उडाउने सरकारको जोहो भयो
यहाँ नागरिक बचाउने भन्दा कुर्सी बचाउने मोह भयो
एउटा डुंगा नहुँदा एकै घरका परिवारै सकिए
सरकारको राहत कागजमा छापिएका बिज्ञप्तिमै सिमित भए ।
ओली बा र बालेन दाइको चर्काचर्की छ फेसबुकमा
हाम्रा दुख देख्दैनन् स्रेय लिने होडवाजी छ राजनीतिमा
जनता आज यसै अकालमा बिते उद्धारको पर्खाइमा
कोही बेघर भए त कोही राहत कुरि बस्या छन् रुखमा
कोही आफैं डुबे कोहीको घर डुबायो
डुबेरै मरे बच्चा अनि बुढाबुढी सबैको मन रुवायो
निदाउन सकेको छैन घर पहिरोले लग्यो भन्छन् गाउँमा
घर जान सकिन जिम्मेवारीको साङ्लोले बाँधेको छ पाउँमा
जनताको नुन खाएको छु, काँधमा छ जिम्मेवारी
अन्तिम श्वास सम्म बचाउनु छ, बोकेको छु देशको भारी
म बाढीमा बगे भने तलब पठाइदिनु घरमा
छोरालाई सन्देश दिनु प्रहरीको यस्तै रहेछ कर्म ।
नाम : शुरज थपलिया
ठेगाना : विदुर ०१, नुवाकोट