काठमाडौँ- सांसद तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक दरबन्दीसम्बन्धी निर्णय कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएका छन्।
उनले आफू मन्त्री हुँदा अर्थ मन्त्रालयसँग भएको सहमति अहिलेसम्म पनि पालना नगरिएको बताएका हुन्।
आफ्नो कार्यकालमा हरेक माध्यमिक विद्यालयमा १०० पूर्णांकको अनिवार्य कम्प्युटर विषय पढाउने निर्णय गरिएको उनले बताए। सो निर्णय कार्यान्वयनका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार गर्न, पाठ्यक्रम विकास केन्द्रमार्फत पाठ्यपुस्तक विकास गर्न, शिक्षा आयोगलाई कम्प्युटर शिक्षकको लाइसेन्स परीक्षा सञ्चालन गर्न निर्देशन दिइएको पुनको भनाइ छ।
यसैगरी, उनले आफ्नो कार्यकालमा अर्थ मन्त्रालयमै अर्थमन्त्री र सचिवसँग छलफल गरी कम्प्युटर शिक्षकका लागि आवश्यक दरबन्दीको व्यवस्था गर्न सहमति जुटाइएको बताए।
‘त्यतिबेला काम सुरु भइसकेको थियो, त्यसैले कार्यान्वयन भइसकेको होला भन्ने लागेको थियो,’ पुनले भने,‘तर अहिलेसम्म केही पनि भएको रहेनछ।’
उनले सम्बन्धित निकायहरूले निर्णय कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै अब शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बोलाएर स्पष्टीकरण लिने चेतावनी दिएका छन्।
पुनले शैक्षिक सुधारका लागि गरिएको महत्वपूर्ण निर्णय बेवास्ता हुनु गम्भीर विषय भएको उल्लेख गर्दै तत्काल कार्यान्वयनमा जान आग्रह गरेका छन्।




