काठमाडौँ– पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ।
आरएस पोखरा फुटबल क्लबको आयोजनामा यही वैशाख १८ गतेदेखि पोखरा रङ्गशालामा सुरु भएको प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलमा सङ्कटा क्लबलाई ४–२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो।
खेलमा पहिलो हाफमा १–० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो। आर्मीको जितमा चन्द्रा भण्डारीले दुई, दीपा शाही र हिमा चौधरीले एक÷एक गोल गरिन्। सङ्कटाको तर्फबाट भने दुई विदेशी खेलाडी क्वीनबेल एअमनाराह र लिसिया एलजे मोकाम्बिकले समान एक÷एक गोल गरिन्।
अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको निर्धारित समय सकिएपछि थप गरिएको एक मिनेटमा आर्मीका लागि दीपाले अग्रता दिलाइन्। तुलसा बोहोराको पासमा उनले सहज गोल गरेकी हुन्।
दोस्रो हाफको सुरुवातमै आर्मीले अग्रता दोब्बर पार्यो। ४७ औँ मिनेटमा सङ्कटाकी गोलरक्षक सुशीला चौधरीले डिफेन्स लाइनबाट आएको बललाई लङसट खेल्न खोज्दा आर्मीकी चन्द्राले गोल गरिन्। उनले ५५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर पारिन्।
खेलमा ३–० ले पछि परेको सङ्कटाका लागि ७० औँ मिनेटमा क्वीनबेलले उत्कृष्ट गोल गर्दै खेलमा फर्काउने प्रयास गरिन्। लगत्तै ७२ औँ मिनेटमा सङ्कटाले फ्रिकिकमार्फत गोल गर्दै खेल ३–२ को स्थितिमा पुर्याएको थियो। लिसिया मोकाम्बिकले प्रहार गरेको फ्रिकिकमा आर्मीकी गोलरक्षक कोपिला खड्काले समात्ने प्रयास गर्दा बल जालीमा ठोकिएको थियो।
खेलको निर्धारित ९० मिनेट सकिएपछि थप गरिएको आठ मिनेटमा आर्मीकी हिमा चौधरीले गोल गरिन्। यो जितसँगै आर्मीले फाइनलमा आइतबार नेपाल पुलिसको सामना गर्नेछ। नेपाल पुलिस क्लबले यसअघि आयोजक आरएस पोखरा फुटबल क्लबलाई ८–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको थियो।
प्रतियोगिताको च्याम्पियन टोलीले नगद पाँच लाख नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले रु तीन लाख पुरस्कार पाउनेछन्। यसैगरी उत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान १५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन्। अनुशासित टिमले २५ हजार नगद पाउने आयोजक आरएस पोखराले जनाएको छ।



