यी हुन् झ्याप्ले खोलामा पुरिएका चार गाडी, आजै खुल्नेछ एकतर्फी सडक

हिमाल प्रेस १३ असोज २०८१ १८:३३
56
SHARES
यी हुन् झ्याप्ले खोलामा पुरिएका चार गाडी, आजै खुल्नेछ एकतर्फी सडक

काठमाडौँ- धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका चारै वटा सवारीसाधनको नम्बर खुलेको छ। धुनीबेशी नगरपालिका-९ झ्याप्लेखोलामा पहिरोले पुरिएको हालसम्म ३५ जनाको शव फेला परेको छ। त्यस ठाउँमा पुरिएका चारै वटा सवारीसाधनको नम्बर खुलेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिप पहिरोमा पुरिएको थियो। चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस पहिरोमा पुरिएको थियो। त्यस्तै गोरखाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस र पोखराबाट काठमाडौँ आउँदै गरेको बा १ प १३८८ नम्बरको बससमेत क्षति पुगेको थियो।

पहिरोमा पुरिएको विंगर जिपमा सवार ८ जना पुरुष, ५ जना महिला र एक जना बच्चा गरी १४ जना, हायसमा सवार १२ जना पुरुष र ४ जना महिला तथा बसमा सवार ५ जना पुरुष यात्रुहरू पहिरोमा पुरिएका थिए। पहिरोमा पुरिएकाहरूको सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी तथा उद्धार कार्य गरिरहेको छ।

उद्धार कार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं. १८ निलबराही गण काठमाडौँबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीले तीन वटा जेसीबीको सहायताले पहिरो पन्छ्याई खोजी तथा उद्धार कार्य गरिरहेको छ।

उनका अनुसार यो सडक सम्भवत आजै सो सडक एकतर्फी खुल्ने छ। राजमार्ग खुलेसँगै जाममा फसेका यात्रुहरूलाई राहत हुनेछ। यद्यपि आजदेखि सुरूङमार्गबाट पनि केही यात्रुहरूलाई काठमाडौँ पठाइएको छ।

प्रकाशित: १३ असोज २०८१ १८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =